विना मगर र योगेश भट्टराईमाथि निर्वाचन आयोगको '' - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

विना मगर र योगेश भट्टराईमाथि निर्वाचन आयोगको ”



निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) की नेत्री विना मगर र नेकपा (एमाले)का नेता योगेश भट्टराईसँग स्पष्टीकरण मागेको छ।

कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार मगरले २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो। उनले बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी घरदैलो गरेको भन्दै उजुरी परेको थियो।

निर्वाचन आचारसंहितामा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने’ व्यवस्था गरिएएको छ।

आयोगले आचारसंहिताको प्रतिकूल हुनेगरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण पेश गर्न भनेको छ।

“तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न अनुरोध छ,’ आयोगले भनेको छ।

त्यस्तै, ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो।

सिरजङ्‍घा गाउँपालिका-३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको आयोगले जनाएको छ।

भट्टराईलाई पनि आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार भए पेश गर्न भनिएको छ।

आयोगले भनेको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ।’