मेरो विरोध गर्नेहरू म जेल पर्दा जन्मेका पनि थिएनन: योगेश भट्टराई
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू जेल पर्दा आज विरोध गर्नेहरू त्यो बेला नजन्मेको बताएका छन् । आफू १८ वर्षकै उमेरमा जेल परेको कहानी सुनाउँदै उनले यस्तो बताएका हुन् ।
प्राईम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन भन्ने कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले आजको दिनमा जसले मेरो विरोध गरिरहेका छन् उनीहरूलाई विरोध गर्ने अधिकार दिलाउन आफै लडेको समेत बताएका छन् ।
कार्यक्रममा धमलाले उनीमाथि लागेको भ्रष्टाचारको आरोपबारे कुरा गर्दाउनले कालो चस्मा लगाएर हेर्न नहुने बताएका छन् । उनले भनेका छन् “कहाँ लागेको छ त ? कालो चश्मा लगाएर हेर्नु भएन नि त ? चश्मा त राम्रै लगाएर हेर्नुपर्यो नि । साउन १५ गते म जसरी गएको थिएँ, फर्किँदा म त्यसैगरि फर्किन्छु । केही फरक पर्दैन् । मेरो जिन्दगी यही हो ।”
उनले अगाडी थपे, “म अरु ठूलै नेताहरुले जस्तो दुःख गरें त भन्दिन्, उहाँहरुले धेरै त्याग तथा तपस्या गर्नुभएको छ ।तर, हामी जिन्दगीमा पनि हामी दुःख गरेर आएका हौं । १८ वर्षको उमेरमा जेल परेको हुँ म पनि । आज म माथि जसले विरोध गरिरहेका छन् नि, ती मानिसहरुको विरोध गर्ने गर्ने अधिकारको निम्ति मै लडेको हो नि । अस्ति प्रजातन्त्र दिवसको दिन मैले लेखें जुन दिन राति १२ बजे म चौतारा जेलबाट छुटेर आएको हुँ । आज मलाई क्वेशन गर्ने मान्छेहरु त्योबेला जन्मिएका पनि थिएनन् होला ।”
कार्यक्रममा उनले भनेका छन्, ”नबिगार्नु, नडराउनु । जस्तोसुकै परीक्षामा हामी सामेल हुन तयार छौं । आज नेकपाको सरकारले, नेकपाको सिंगो पार्टीको एकताले, सिंगो मुलुकको एकताले, केपी ओलीको नेतृत्वको सरकारले कोभिड १९ विरुद्धको लडाई जित्छ । जित्नुबाहेक हामीसँग विकल्प छैन् । यदि यो सरकारले जितेन भने कसैले जित्नेवाला छैन् । देश हार्ने होईन, मानव जातिले हार्छ । त्यसकारण यति गम्भिर परिस्थितिमा खेलाँची नगरौं । हल्काफुल्का टिप्पणी कसैले नगरौं । कसैमाथि आरोप प्रत्यारोप अहिले नगरौं ।”
उनले थपे, “मैले अघि भनें कतिकति राजनीतिक चलखेल भएका होलान, पर्दाभित्र ? आज त्यो पनि हामी नखोजौं । भोलि जनताको मैदानमा हिसाबकिताब भैहाल्छ नि । अर्को साँढे दुई वर्षपछि हामी चुनावमा जाँदैछौं त । त्यहीँ हुन्छ नि त हिसाबकिताब । हामी अपराधी रछौं ? खत्तम रछौं भने जनताले हामीलाई भोट हाल्लान् त ? नेपाली जनता लाटा छैनन् । आज नेपाली जनताले जुन धैर्यता देखाएका छन, यत्तिको धैर्यता विश्वका धेरै कम मानिसहरुले देखाएका छन् ।”
उनले अष्टेलियाका नागरिक फर्काउन अष्टेलियन सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरेको र निगमको खातामा पैसा जम्मा भैसकेको समेत बताए । उक्त विमान चार्टर गर्दा निगमले कुनैपनि कमिशन नखाएको उनको दाबी छ । उनले भने,”हाम्रो एकाउन्ट चेक गर्नुहोस न । ५ करोड समथिङ पैसा हाम्रो एकाउन्टमा कहाँबाट आयो त ? कमिशन एक पैसापनि दिएको छैन् । दिनुपर्ने कि नपर्ने ? भोलि हिसाब गरौंला । एजेन्ट किन चाहियो भनेर मलाई नसोध्नु । केही पनि हिनामिना भएको छैन् ।”
नेपालले कोरोनाको पहिलो नमूना परीक्षण हङकङमा गरेको सुनाउँदै उनले विगतमा सरकार चलाएकाहरुले कस्तो एड्भान्स काम गरेछन् भनेर सोच्न आग्रह गरे । अहिले स्वास्थ्योपचारमा सहभागी हुने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको तलब, भक्ता बढाईएको, वीमाको व्यवस्था गरेको लगायत राम्रो व्यवस्था गरिएको पनि उनले जिकिर गरे । सरकार सम्पूर्ण तयारीका साथ अघि बढेको उनको जिकिर गरे ।