'सी' विचारधाराको विपक्षमा पार्टी प्रवक्ता नारायणकाजी - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

‘सी’ विचारधाराको विपक्षमा पार्टी प्रवक्ता नारायणकाजी



काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को दुईदिने संयुक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएर चार बुँदै सम्झौता भएपछि नेकपा भित्रै यसको पक्ष र विपक्षमा बहस भैरहेको छ ।

नेकपा सीको विचारलाई अंगिकार गर्दै चीनतिर ढल्केको टिप्पणी भैरहेको बेला नेकपाकै प्रभावशाली नेताहरू भने यसको बिपक्षमा उभिएका छन् ।

यसै सन्दर्भमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीको विचारलाई नक्कल गर्नु अत्यन्त गलत भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ट्वीटरमा बुधबार लेखेका छन्, ‘सी जिनपिङ विचारधारा चीनको कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तको महत्वपूर्ण हिस्सा हो, हाम्रो होइन। हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिष्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौं। यसमा कुनै पनि अलमलमा पर्नु जरुरी छैन।’

यो टिप्पणी अगाडी पनि उनले नेकपा कुनै देशतिर नढल्किने भन्दै लेखेका थिए।

मंगलबार श्रेष्ठले लेखेका थिए , ‘हाम्रो पार्टी नेकपा कुनै खास देशतिर ढल्कदैन। हामीलाई राम्ररी थाहा छ कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढ्न सकेको कारणले नै हामी आज उपल्ब्धीको यो बिन्दुमा आईपुगेका हौं। अनि हामीलाई देशको भू-राजनीतिक अवस्थिति र संबेदनशीलता पनि राम्ररी थाहा छ। स्पष्ट होऔं।’

आफ्नो पार्टीको सिद्धान्त मालेवाद रहेको स्पष्ट पार्दै उनले लेखेका छन्, ‘हाम्रो पार्टीको सिद्धान्त मालेवाद हो। हामी समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेका छौं। क्रान्तिको रणनीतिक लक्ष र आधारभूत कार्यक्रम समाजवाद हो। त्यसको आधार तयार पार्न सामाजवादी क्रान्तिको रणनीति कार्यान्वयनको प्रकृया अन्तर्गतको मूल कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद हो।’

यता नेकपाका कतिपय नेताहरुले सीको विचार र सिद्धान्तबाट धेरै कुरा सिक्न सकिने र देश विकास गर्न सकिने दाबी गर्दै आएका छन्।