फिफा विश्वकप २०१८ बारे जानकारी - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

फिफा विश्वकप २०१८ बारे जानकारी



मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २२ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई ८ समूहमा विभाजित गरिएको छ । प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

१४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए ।

यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ ।

प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।

विश्वकपका लागि रसियाली सरकारले १० बिलियन डलर बराबरको बजेट तोकेको छ । जसमध्य आधा बजेट खेल पूर्वाधारको विकासमा खर्चिएको छ । विशेषत आवतजावतका लागि प्रयोग हुने प्लाटफर्म, विमानस्थल लगायतमा सरकारले बढी ध्यान पुर्याएको देखिन्छ ।