‘ म नेपाल !’ भनेर कसैले भनेन त ! (लघुकथा) - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

‘ म नेपाल !’ भनेर कसैले भनेन त ! (लघुकथा)



रवीन्द्र समीर

उ सडक पार गर्दै थियो । अचानक उसको खुट्टो चिप्लिएर हिलोमा डुब्यो । त्यसो त उ महानगरको बासिन्दा भएकोले हिलो, धूलो तथा धुँवा उसका अभिन्न अंग भइसकेका थिए । सडकको अर्को दहमा पुगेर उसले हिलो पखाल्यो ।

बाटोमा स्कुल जाने बच्चाहरु हिंडिरहेका थिए । ‘ म त अर्जेन्टिना । ‘ डीडीसी दुधको प्याकेटजस्तो टिसर्ट लगाएको विद्यार्थीले मेसिका कुरा गर्दै थियो । अर्को पीतबस्त्रधारी विद्यार्थीले भन्यो – म त ब्राजिल ।

उ सरासर कफी पसलमा पुग्यो । ‘ म जर्मनी । ‘ यहाँपनि पहिचानको दौड यथावत थियो । जवानीमै तालु खुइलिएको सुकुमारले भन्यो – म चाँही फ्रान्स ।कोलिफर्म र सोडा मिसिएको मिल्क कफी पिएर उ चोकतिर लाग्यो ।

पुरानो टोपी, मैला कपडा तथा खुइलिएको नाम्लो बोकेका प्रौढ व्यक्ति चिच्याइचिच्याइ मोबाइल फोनमा कुरा गरिरहेका थिए । “ अरु नयाँ त के हुनु र साइँला रु रोनाल्डोले ३ गोल हान्यो । तेरो कोरिया छिट्टै घर जाला जस्तो छ ।” यो सुनेर जर्सी पसलेले सोध्यो – बाजे तपाइंको कुन देश रु बाजेले छाती फुलाएर भने – त्यहि रोनाल्डोको पोर्चुगल ।

काम परेकोले उ सरकारी कार्यालयमा पुग्यो । आँखामा निद्रा झुन्डाएको हाकिमले भन्यो – म त पुरै स्पेन । अर्को कर्मचारीले बिना प्रश्न जवाफ दियो – म इंग्ल्याण्ड ।

दिक्क मान्दै उ आफ्नो घरतर्फ लाग्यो । उसकी श्रीमतीले भनी – मैले देश फेरें नि बुढा । पहिले अर्जेन्टिना थिएँ, आजदेखि नाइजेरिया भएँ । उसका छोराछोरीले भने – बाबा ! आजदेखि हामी जापान, अब यो जर्सी नलगाउने ।

उसले मनमनै भन्यो – ‘म नेपाल !’ भनेर कसैले भनेन त !