निर्माणाधीन वडा कार्यालय भवनको अनुगमन, कमसल सामाग्री प्रयोग
विशाल पाण्डेय / कैलाली ।
कैलालीको घोडाघोडि नगरपालिकाले विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिइरहेकाे भएपनि यहाँ विकास निर्माणकाे काममा अनियमितता भएकाे पाइएकाे छ । घोडाघोडी नगरपालिका वडा नं १ को निर्माणाधिन वडा कार्यालय भवनमा कमसल खालको ईट्टा प्रयोग भएको स्थानीयहरुले बताएका छन् ।
कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको बन्दाबन्दीका कारण स्थगित भएको वडा कार्यालयको भवन निर्माण योजनाको कार्य पुनः सुरु भएपनी कमसल तथा लेउ लागेको ईट्टा प्रयोग भएको भन्दै विभिन्न संचार माध्यममा समाचारसंगै जनगुनासो आएपछि नगरपालिकाको टोलिले बुधबार अनुगमन गरेको छ ।
धेरै पहिला इट्टा ल्याएर राखिएको हुँदा पानी परेर लेउ लागेको र प्लास्टर गर्नु अघि ब्रसले घोटेर प्लास्टर गरेपछी भवनमा केही समस्या नहुने घोडाघोडी नगरपालिकाका ईन्जिनियर किशोर भट्टले बताए । उनले निर्माणका लागि ल्याईएको ईट्टा केही पुरानो र धेरै समय पानीमा भिजेकाले कमसल जस्तो देखिएको बताए ।

काममा लापारवाही भएको खबर पाएपछि नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले अनुगमन तथा निरीक्षण गरी सम्झौता अनुसारको सामाग्री प्रयोग गर्न निर्देशन दिएका छन् । ‘पहिलो चरणमा भेटीएका मिश्रीत तथा लेउ लागेका कमसल ईट्टा प्रयोग नगर्न भनेका छौं ।’ उनले भने, “पुनः कमसल ईट्टा तथा कमसल खालका अन्य सामाग्री प्रयोग गरेको भेटीए कारबाही गरिने छ ।”
यता विनेश कन्स्ट्रक्सनका संञ्चालक तथा निर्माण व्यवसायी ज्ञानु बमले लामो समयअघि आफुहरुले इट्टा खरिद गरेर ल्याएको हुँदा पानी परेर लेउ लागेपनि कमसल नभएको बताए । उनले आफूले गुणस्तरीय इट्टा खरिद गरेपनी ईट्टा भट्टाहरुले कमसल ईट्टा मिसाएर पठाएको हुनसक्ने बताएका छन् ।
चालु आर्थिक वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरि नगरपालिकाले कुल १ करोड ४१ लाख २७ हजार रुपैयाँ लागतमा विनेश कन्स्ट्रक्सन कैलालीसंग निर्माण कार्यको सम्झौता गरेको थियो । अनुगमन टोलीले कमसल ईट्टालाई प्रयोग नगरी गुणस्तरीय इट्टाको प्रयोग गर्नको लागी निर्देशन दिएको छ ।
कमसल सामाग्री प्रयोग
घोडाघोडी नगरपालिकाको निर्माणाधीन भवनमा समेत कमसल सामाग्री प्रयोग गरेको पाइएको छ । एनएम, के.डी र एन जे.भी कन्स्ट्रक्सनले संयुक्त रुपमा क्रमागत तीनवर्षे निर्माणको जिम्मेवारी पाएको उक्त नगरपालिका भवनमा फुटेको टुक्राटुक्रा इट्टा प्रयोग गरिएको पाइएको हो ।
अहिले भवनको फाउण्डेशन चार इन्चको ईट्टाको सोयल हाल्ने काम गरिरहेको निर्माण पक्षले कमसल र फुटेका टुक्राटुक्रा ईट्टाको प्रयोग गरेको जनगुनासो आएपछि निर्माणाधीन नगरपालिकाको भवनमा समेत बुधबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फुटेका टुक्राटुक्रा ईट्टाको प्रयोग गरेको पाइएपछि घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले तुरुन्त त्यो फुटेको टुक्राटुक्रा इट्टा निकालेर सिंङ्गो र गुणस्तरीय इट्टा प्रयोग गर्न निर्देशन दिएका छन् । उनले सम्झौता अनुसार गुणस्तरीय काम नगरे कारबाही गरिने समेत बताए ।

शहर बजारमा ढुंगाको अभाव हुने गरेकाले ईट्टाको नै फाउनण्डेशन हाल्ने गरिएको पाइन्छ । तर, ईट्टा भट्टामा टुटेफुटेका ईट्टा सस्तोमा पाइने भएकाले निर्माण व्यवसायीले मौकाको फाइदा उठाएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । घोडाघोडी नगरपालिकाले ३ वर्षभित्र नगरपालिकाको भवन निर्माण कार्य सम्पन्न गर्ने गरि ७ करोड ५० लाख रुपैयाँको सम्झौता गरेको थियो ।
अनुगमन टोलीमा नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र बहादुर सिंह, वडा नं १ का अध्यक्ष मनराज शाही , घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य,सुदुरपश्चिम् प्रदेश पत्रकार महासंघकि उपाध्यक्ष चादँनी आचार्य , प्राबिधिक लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
भिडियो हेर्नुहोस :