विश्वकप २०१८: तपाईंले जान्नुपर्ने केहि तथ्य - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विश्वकप २०१८: तपाईंले जान्नुपर्ने केहि तथ्य



रुसमा चार दिनपछि सुरु हुने विश्वकप फुटबलमा ३२ देशका ७३६ खेलाडीलाई मैदानमा देख्न पाइने छ । हरेक देशका २३ खेलाडीसहितको टिम रुस जाने क्रममा छन् ।

तीन खेलाडी कोही पहिलो रोजाइ त कोही थप खेलाडीको रुपमा पक्कै मैदानमा जाने छन् र आफ्नो देशका लागि विश्वकपको ठूलो सपनाको नजिक लैजानका लागि प्रयास गर्ने छन् ।

यो विश्वकप खेल्न लागेका मध्ये २०० खेलाडीले यसअघि पनि विश्वकप खेलिसकेका छन् । यसको अर्थ ५३६ खेलाडीका लागि विश्वकपको नयाँ अनुभव हुनेछ रुसमा ।

अहिले विश्वकप खेल्न लागेका मध्ये १८६ जनाले वर्षअघिको ब्राजिल विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका थिए । यस्तै ६१ जनाले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका थिए ।

यस्तै त्यसअघिको सन् २००६ को जर्मनी विश्वकपमा खेल्ने २१ ज्ना छन् । त्यो भन्दा पनि अघि सन् २००२ मा दक्षिण कोरिया तथा जापानमा भएको विश्वकप खेल्ने एक खेलाडीले यसपटक पनि विश्वकप खेल्दैछन् ।

समग्रमा यसअघि विश्वकप खेलेका २०० खेलाडीले विश्वकपमा प्रतिनिधित्व गर्दैछन् । मेक्सिकोका राफा माक्र्वेज सन् २००२ देखि हरेक विश्वकपमा प्रतिनिधित्व गर्दैछन् ।

रुस विश्वकप उनको पाँचौँ विश्वकप हुनेछ । उनी पाँचपटक विश्वकप खेल्ने चौथो खेलाडी हुँदैछन् । यसअघि यसरी पाँचपटक विश्वकप खेल्नेमा एन्टोनिओ कारबाहाल, लोथर म्याथ्युज र जियानजुलइजी बुफोनले आफ्नो नाम लेखाएका छन् ।

अन्य केही तथ्य
इंग्ल्याण्डको टिममा रहेका सबै खेलाडीले घरेलु लिगकै क्लबमा खेल्छन् । यस्तै रुसका २३ मध्ये २१ खेलाडीले रुसकै लिगमा खेल्ने गरेका छन् । यस्तै साउदी अरेबियाका २३ मध्ये २० खेलाडीले पनि घरेलु लिगकै क्लबबाट खेल्ने गरेका छन् ।

तर सेनेगल र स्वीडेनको टिममा रहेका खेलाडी मध्ये एकजना पनि घरेलु लिगका क्लबबाट खेल्ने खेलाडी छैनन् । यस्तै बेल्जियम, आइसल्याण्ड, नाइजेरिया र स्वीट्जरल्याण्डको टिममा घरेलु लिगमा खेल्ने एक एक खेलाडी छन् । विश्वकपका लागि रुस जाने मध्ये ७४ प्रतिशत खेलाडी युरोपका क्लबबाट खेल्ने छन् ।

विश्वकपका लागि घोषित टिममा रहेका ५३ प्रतिशत खेलाडीले यसअघि विश्वकपमा गोल गरिसकेका छन् । सबैभन्दा धेरै गोल गर्नेमा जर्मनीका थोमस मुलर छन्, जसले १० गोल गरेका छन् । यस्तै कोलम्बियाका जेम्स रोड्रिग्वेजले ६ गोल गरेका छन् । यस्तै टिम काहिल, गोन्जालो हेगुइन, लियोनल मेस्सी र लुइस स्वारेजले समान पाँच पाँच गोल गरेका छन् ।

यो विश्वकपमा इजिप्टको टिममा रहेका एस्सम एल–हादारी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरको खेलाडी हुँदैछन् । ४५ वर्ष पाँच महिनाका एल–हादारी इजिप्टको टिममा छन् । इजिप्टका गोलकिपर एल–हादारी अहिले विश्वकप खेल्ने बढी उमेरका अर्का खेलाडी भन्दा ६ वर्ष जेठा छन् । मेक्सिकोका राफा माक्र्वेज बढी उमेरका खेलाडीको सूचिमा दोस्रो नम्बरमा छन् ।

इजिप्टका एल–हादारी सेनेगलका प्रशिक्षक एलिओउ सिसी, सर्बियाका प्रशिक्षक एलादिन क्रिस्टिाजिक र बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भन्दा पनि जेठा छन् । उनले टिममा परेर कीर्तिमान त बनाइसकेका छन् । अब खेलेर पनि बनाउने तयारीमा छन् । अहिलेसम्म कोलम्बियाका फारिड मोन्ड्रागोन विश्वकप खेल्ने बढी उमेरका खेलाडी हुन् । उनले ४३ वर्ष तीन दिनको हुँदा विश्वकप खेलेका थिए ।

यो विश्वकपमा बढी उमेरका र कम उमेरका प्रशिक्षकबिच २९ वर्षका फरक छ । उरुग्वेका ७१ वर्षका प्रशिक्षक ओस्कार ताबारेज विश्वकपको इतिहासमा बढी उमेरको दोस्रो प्रशिक्षक बन्दैछन् । सेनेगलका प्रशिक्षक एलिओउ सिसी यो विश्वकपमा सबैभन्दा कम उमेरका प्रशिक्षक हुन् । उनी ताबारेज भन्दा २९ वर्ष कान्छा छन् ।

अस्ट्रेलियाका विंगर डानिएल अर्जानी यो विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन् । उनी १९ वर्ष पाँच महिनाका भए । तर विश्वकपको इतिहासमा १७ वर्ष दुई महिनाको हुँदा खेलेका फेमी ओपाबुन्मी, १७ वर्ष तीन महिनाको हुँदा खेलेका थियो वालकोट, १८ वर्ष चार महिनाको हुँदा खेलेका क्रिष्टियन एरिक्सन र १८ वर्ष एक महिनाको हुँदा खेलेका फाब्रिस ओलिन्गाको नाम पनि छ ।

उनीहरु क्रमशः सन् २००२, २००६, २०१० र २०१४ को विश्वकपका कम उमेरका खेलाडी हुन् । यो विश्वकप खेल्ने ७३६ खेलाडीको औसत उमेर झण्डै २८ वर्ष छ ।

यो विश्वकपमा म्यानचेस्टर सिटीबाट खेल्ने १६ खेलाडी छन् । यसतै रियल मड्रिडका १५, बार्सिलोनाका १४, चेल्सी, पेरिस सेन्ट–जर्मेन र टोटनह्यामका १२ खेलाडी रहेका छन् । यस्तै इंग्ल्याण्डका क्लबबाट खेल्ने १२४, स्पेनका क्लबबाट खेल्ने ८१ तथा जर्मनीका क्लबबाट खेल्ने ६७ खेलाडी छन् ।

यसअघि विश्वकपमा १६ खेल खेलको राफा माक्र्वेज र जाभिएर मास्चेरानोले यो विश्वकप खेल्दैछन् । यस्तै १५ खेल खेलेका लियोनल मेस्सी, १४ खेल खेलेका मेसुट ओजिल तथा १३ खेल खेलेका थोसम मुलर, म्यानुएल नुयर, सर्जिओ रामोस र क्रिष्टियानो रोनाल्डोले पनि यो विश्वकपमा खेल्दै छन्।

फिफा डट कम