काठमाडौंका अधिकांश पानी उद्योगमा चरम लापरवाही ! - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

काठमाडौंका अधिकांश पानी उद्योगमा चरम लापरवाही !



जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीमा गम्भिर लापरवाही गरिएको पाईएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिसहितको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खानेपानी व्यवस्थापन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा संयुक्त रुपमा खानेपानीको गुणस्तरबारे अनुगमन गरेका छन्।

२०७५ जेठ १६ गते उपत्यकामा जारमा खानेपानी भरेर बेच्ने विभिन्न कम्पनीहरुमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा अधिकांश खानेपानी उद्योगहरु मापदण्ड प्रतिकुल पानी उत्पादन गरेको भेटिएको थियो। मापदण्ड विपरित देखिएपछि सगरमाथा फुड एण्ड वेभरेज प्रा.लि.का पानी बिक्री बन्द गरी सिलबन्दी गरिएको छ। यो कम्पनीका जारमा बिनाशील बजारमा पठाउन लागिएको, शुद्धीकरण नगरी सोझै जारमा भरेको, फुटेको बिर्को टेपले टाँसेको भेटेपछि अनुगमन टोलीले यो कम्पनी बन्द गरेको हो।

त्यस्तै टोलीले मातातीर्थकै दुवा फुड प्रोडक्ट एण्ड वेभरेज प्रा।लिमा पुराना जार भेटिएकोले २९ वटा नष्ट गरेको छ। त्यहीँको स्प्रिङ मिनरल वाटर मातातिर्थ प्रा.लिलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न आदेश दिईएको छ। बुधबार चार वटा पानी उद्योगमा अनुगमन भएको थियो । सनसाइन वेभरेज प्रोडक्सन प्रा.लिको मुहान फोहोर भेटिएको थियो। एक महिनाभित्र मुहान लगायत वरिपरी सरसफाइ गर्न समेत निर्देशन भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको शुद्धता, मापदण्डको अनुगमन भएको हो। मन्त्रालयले दैनिक जीवनयापनसँग सरोकार राख्ने वस्तुहरुको गुणस्तर कायम राख्न अनुगमन अभियानै सञ्चालन गरिरहेको छ।

मन्त्रीको सचिवालयको तर्फबाट यज्ञराज खरेल र मानसिंह ठकुरी सहितको संयुक्त विशेष अनुगमन टोली परिचालित भएको थियो।