मोटरसाइकलसहित पाँच वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

मोटरसाइकलसहित पाँच वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा



पुनहरि बेल्बासे

बुटवल । रुपन्देहीको गैंडहवा गाउँपालिकामा सरकारी गाडीको अत्यधिक दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाका वडा अध्यक्षहरू शनिवारको दिन सरकारी गाडी चढेर रेस्टुरेन्ट धाउन थालेपछि रहस्य बाहिर आएको हो ।

सरकारी गाडी दुरुपयोग गर्नेमा गैंडहवा गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी रहेका छन् । उनले लु १ ब १२९१ को मोटरसाइकल प्रयोग गरेका हुन् । वडा नं. २ का अध्यक्ष तुलबहादुर पुन र उनको मोटरसाइकल लु १ ब १२९६, वडा नं. ४ का अध्यक्ष सुरेन्द्र सिंह र लु १ ब १२९४ नं. को मोटरसाइकल, वडा नं. ५ का वडा अध्यक्ष कृष्णशंकर प्रसाद गुप्ता र लु १ ब १२९३ नं. को मोटर साइकल, लु १ ब १२९० नं. को मोटसाइकल सहित वडा नं. ९ का अध्यक्ष रामबिलास यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।

सार्वजनिक बिदाको दिन स्थानीय सरकारका प्रतिनिधिले नै दुरुपयोग गरेको पाइएपछि ट्राफिक प्रहरी मुर्गियाका इन्चार्ज दामोदर मल्लको नेतृत्वमा शनिवार बिहानैदेखि सरकारी गाडीको चेकजाँच गरिएको कार्यालयले जनाएको छ । मोटरसाइकल दुरुपयोग गर्ने सबै वडा अध्यक्षहरूलाई मुर्गियास्थित ग्लोबल पार्टी प्यालेसबाट शनिवार दिउँसो ४ बजे पक्राउ गरिएको र अर्को पटक दुरुपयोग गरेको पाइएमा नियम बमोजिम कारबाही गरिने लिखित कागज गरी राति ९ बजे छोडिएको इन्चार्ज मल्लले जानकारी दिए ।

नेपाल सरकारले बिदाको दिन सुरक्षा निकायबाहेक अन्य गाडी चलाउन रोक लगाएको छ । सार्वजनिक बिदाको दिन चलाउनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा कारणसहितको पत्र लिएमा भने चलाउन पाइन्छ ।