भ्रमण वर्षको गीत रचना गर्नेलाई पुरस्कार दिइने

काठमाडौं ।‘नेपाल भ्रमण वर्ष’ सन् २०२० लाई भव्य रूपमा मनाउन आधिकारिक गीत रचना गर्न सरकारले सार्वजनिक आहृवान गरेको छ ।
भ्रमण वर्षको तिब्र तयारी गरिरहेको पर्यटन मन्त्रालयले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत-संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले यस्तो योजना बनाइएको बताइएको छ। यसको गीत सृजना गर्नेलाई उचित पुरस्कारको समेत ब्यबस्था गरिएको छ ।
सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ ।
गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जनाएको छ ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

