कविता : तेल भिसा - Himal Post Himal Post
  • १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
Logo

कविता : तेल भिसा



सुरेन्द्र अस्तफल

हातमा परेको छ तेल भिसा
छोराले पठाएको छ विदेशबाट
जाते आते बोइङको खर्च
भनेको छ छोराले पटकपटक
बाबा र आमा जसरी भए पनि आउनू
बाबालाई नमिले
आमा त आउनू आउनू
बुहारीले बाटो हेरिरहेकी छ ।

सुटकेस भरिएको छ
नातिका भोटा र दौराले
अलिकति गाउँको
अर्गानिक तोरीको तेल पनि छ
बुढीले
गुन्द्रुक र मस्यौराको पोको पारिसकिन्
भन्दै थिइन्
गाईको चोखो घिउ र कुराउनी
हाते झोलामा भरिसकेँ
बुहारीको जिउ सारै कमजोर छ
मुखमात्र चल्ने हो त्यसको
त्यसकै लागि
भोटेसँग जिम्बु र ज्वाँनो किनिसकेकी छु
बत्तीसमसला उहिल्यै पकाएकी हुँ ।

उभिएको छु बूढीसँगै
त्रिभुवन विमानस्थलको गर्भभित्र
नाचिरहेको छ
उसको आँखामा
छोरा हुर्काउँदाको मातृत्व
म सकीनसकी
सुटकेस र झोला घिसारिरहेछु
र हेरिरहेछु
सुत्केरीस्याहारको नाममा
बोइङ चढ्न आतुर
आफूजस्तै बूढाबूढीहरूका
चाउरिएका गाला
र कपासझैँ फुलेका कपालको श्वेतबिम्ब ।