चुनौतीपूर्ण बन्दैछ, भाइरल इन्फ्लुएन्जा – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चुनौतीपूर्ण बन्दैछ, भाइरल इन्फ्लुएन्जा – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ



हिंजो ३९ बर्षका पत्रकार तथा कवि यादब थपलियाको अकल्पनीय रुपमा निधन भयो । सामान्य ज्वरो, रुघाखोकी लगायतका समस्याको लागि अस्पताल भर्ना हुनुभएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो । यस्ता धेरै घटना दिनहुँ घटिरहेका छन् । तसर्थ भाइरल इन्फ्लुएन्जाबारे जानकारी लिनु अपरिहार्य छ ।

भाइरल इन्फ्लुएन्जा भनेको भाइरसको संक्रमणको कारण लाग्ने रुघा हो । ज्वरो आउने, जाडो हुने, काम्ने, खोकी लाग्ने, घांटी दुख्ने, सास फेर्न गाह्रो हुने, स्वर बस्ने, सिंगान आइरहने, छाती दुख्ने, शरीरमा घमौरा आउने, वान्ता हुने, रिंगटा लाग्ने, एकदम थकित हुने, सम्पूर्ण शरीर दुख्ने तथा ज्वरोको औषधि खाएपनि लामो समय निको नहुने जस्ता लक्षण देखिन्छन ।

बच्चाहरुमा छिटोछिटो सास बढ्ने, सास फेर्न गाह्रो हुने, छालाको रंग निलोनिलो देखिने, पानी तथा झोलिलो खाना नखाने, सुतिरहने, बिमिरा सहितको ज्वरो आउने, रुघा र खोकीले ग्रस्त बनाउने लक्षण देखिन्छन ।

यस्ता लक्षण सामान्य वा मौसमी रुघामा, छाती वा घाँटीको संक्रमणमा, टाइफाइड तथा निमोनियामा पनि देखिने भएकोले अभिभावक तथा चिकित्सक पनि झुक्किने सम्भावना हुन्छ ।

मुटुको रोग, मधुमेह, दम, छातीको इन्फेक्सन भइरहने व्यक्ति, बालबालिका, बृद्धबृद्धा, स्वास्थ्यकर्मी, बिद्यार्थी, गर्भवती महिला, मृगौला तथा क्यान्सरका बिरामी आदि जोखिम बर्गमा पर्दछन ।

भाइरल इन्फ्लुएन्जामा एन्टिबायोटिकले सेकेण्डरी इन्फेक्सन रोक्ने बाहेक निको गर्न सक्दैन । ज्वरो, खोकी लगायतको लाक्षणिक उपचार गर्ने, घरमै आराम गर्ने, प्रशस्त झोलिलो एबम पोषिलो खानेकुरा खाने तथा गाह्रो भएमा अस्पताल जाने जस्ता उपचारका प्रक्रिया हुन्छन । एन्टी भाइरस औषधि सबैलाई प्रभावकारी हुँदैनन् ।

भाइरल इन्फ्लुएन्जा ठिक नभएर निमोनिया लगायत कम्प्लिकेसन भएमा सन्चो हुन एकदम गाह्रो हुन्छ ।

यसको रोकथाम सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

६ महिनाभन्दा माथिका उमेरका सबैले इन्फ्लुएन्जाको भ्याक्सिन अनिबार्य रुपमा लगाउनुपर्छ । यो खोप निकै प्रभावकारी छ ।

  • रुघाखोकी लागेको व्यक्तिलाई घरमा छुट्टै कोठामा राख्ने, उसले प्रयोग गरेका सामान प्रयोग नगर्ने तथा नजिकबाट संसर्ग गर्नुहुँदैन ।
  • रुघाखोकी लागेको व्यक्तिसंग दुरी राख्ने, राम्रो खालको मास्क लगाएर कुरा गर्ने गर्नुपर्दछ ।
  • बिद्यालय, अस्पताल, सिनेमा घर, सार्वजनिक बस, सपिंग मल, स्विमिंग पुल आदिबाट एकार्कामा रोग चांडो फैलिने सम्भावना हुन्छ । तसर्थ भिडभाडमा जानु हुँदैन ।
  • साबुनपानीले वा स्यानिटाइजरले राम्रोसंग हात सफा गरेर मात्र खाना खाने गर्नुपर्दछ ।
  • मुख, नाक तथा आँखामा हात सफा नगरी छुनुहुंदैन ।
  • सुर्ती तथा रुघाखोकी लागेको बेला रक्सी खानुहुँदैन ।
  • आफुले काम गर्ने अर्थात हातले छुने ठाउँलाई सफा गर्नुपर्दछ ।
  • बाटोमा हिंड्दा वा भिडमा जाँदा मास्क लगाउनुपर्दछ ।
  • बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोषिलो खाने कुरा खानुपर्दछ ।
  • रुघाखोकी तथा ज्वरो आउने बित्तिकै आफ्नो चिकित्सकसंग परामर्श गर्ने, दिएको औषधि नियमित सेवन गर्ने तथा अपेक्षित सुधार नभए तुरुन्त अस्पताल जानुपर्दछ ।