भेरी अस्पताल प्रकरण: अपराधि बचाउने खेलमा छानबिन समिति, देखायो अस्पतालकै कमजोरी - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

भेरी अस्पताल प्रकरण: अपराधि बचाउने खेलमा छानबिन समिति, देखायो अस्पतालकै कमजोरी



बाँके- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण प्रकरणमा छानबिन समिति पनि अपराधि बचाउने खेलमा लागेको भेटिएको छ । घटनामा संलग्नहरूले राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउने आशंका गरिएकै बेला छानबिन समितिले अस्पतालकै कमजोरी भएको देखाएको छ ।

जेठ १३ गते भएको अस्पताल तोडफोड र आक्रमणको घटनामा अस्पतालकै कमजोरी भएको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। अपराधिलाई कडा कारबाही हुनुको साटो उल्टै अस्पतालकै कारण भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

घटनामा एमालेका नेताहरू जोडिएको भन्दै कारबाहीको चौतर्फी आवाज उठिरहेका बेला छानविन समितिले शंकास्पद प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी माथि भएको अमानवीय आक्रमणलाई समेत अस्पताल प्रशासनको कमजोरीका रूपमा देखाईएको छ ।

घटनामा ओली निकट नेताहरू जोडिएको र उनीहरूले उन्मुक्ति पाउने आशंका भैरहेका बेला छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ ।

प्रतिवेदनमा अस्पतालको सेवामा कमी भएको बताइएको छ । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।

त्यतिमात्र होइन छानबिन समितिको प्रतिवेदन नै टालटुले खालको तयार गरिएको छ । प्रतिवेदनमा समग्र अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु-याउन समितले सुझाव दिइएको छ । तर यो घटनामा संलग्नलाई के गर्ने, के कारबाही गर्ने भन्ने उल्लेख गरिएको छैन ।

अर्कातिर प्रतिवेदनमा अस्पतालको सेवालाई गुणस्तरीय बनाउन भनिएको छ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावतसहित छोराहरुले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाइलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

घटनामा संलग्न रहेका मृतकका भाइहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शारीरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

घटनालगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

प्रतिवेदन आउनुअघि नै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।