अमेरिकालाई क्षेप्यास्त्र हान्न "प्राक्टिस" गर्दै उत्तर कोरिया - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अमेरिकालाई क्षेप्यास्त्र हान्न “प्राक्टिस” गर्दै उत्तर कोरिया



सोल । उत्तर कोरियाको सेनाले सोमबार दक्षिण कोरिया र अमेरिकामाथि लक्षित प्रमुख हवाई अखडा र अपरेसन कमान्ड सिस्टमहरूमाथि निर्मम ढंगले आक्रमण गर्नका लागि अभ्यास स्वरूप प्योङयाङले श्रृंखलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

सेनाले ती दुई मुलुकमाथि हुने सम्भावित आक्रमणमा आणविक हतियार बोक्न सक्षम क्षेप्यास्त्रहरूसमेत प्रयोग हुन सक्ने बताएको छ ।

उत्तर कोरियाका सेनाको यस घोषणाले नेता किमको आफ्नो सैन्य अभ्यास विस्तारका लागि आफ्ना प्रतिद्वन्द्वीहरूको दबाबको सामना गर्दै पछि नहट्ने दृढ संकल्पलाई जोड दिएको छ ।

तर केही विज्ञहरूले भविष्यमा वासिङटन र सोलसँग सामना गर्नुपर्ने परिस्थिति मध्यनजर राख्दै किमले आफ्नो आणविक हातहतियारलाई आधुनिकीकरण गर्नका लागि त्यसरी सैन्य अभ्यास गरेको पनि बताएका छन् ।

गत साता उत्तर कोरियाले समुद्रतर्फ दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै लडाकु विमानहरू उडाएको थियो । फलस्वरूप जापान र दक्षिण कोरियाका केहि क्षेत्रका वासिन्दालाई सुरक्षाको हिसाबले अन्यत्र सार्नुपरेको थियो ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले बृहत संयुक्त सैनिक अभ्यास गरेको कारण विरोध स्वरूप त्यस्तो प्रतिक्रिया दिएको थियो । प्याेङयाङले वासिङटन र सोलको संयुक्त सैनिक अभ्यासलाई आफूमाथिको आक्रमणको पूर्व तयारीको रूपमा हेर्ने गरेको छ ।

अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीहरूले आफ्नो सैनिक अभ्यास अझै अघि बढ्ने बताउनुका साथै उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेमा किमको सत्ताकै अन्त्य हुने चेतावनी दिएका छन् । बीबीसी