उपेन्द्र यादवले भने : कर्मचारी समायोजन गलत भयो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

उपेन्द्र यादवले भने : कर्मचारी समायोजन गलत भयो



सुर्खेत: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवा शुरु गर्दै मन्त्री यादवले समायोजनले जनतालाई राहत भन्दा बढी सास्ती दिएको बताए।

‘कर्मचारी समायोजन आफैमा त्रुटि छ,’ मन्त्री यादवले भने, ‘जहाँ सेवा छ, त्यहाँ जनशक्ति हुनुको सट्टा सेवा आवश्यक नभएको क्षेत्रमा कर्मचारी खटाइएको छ।’ जनताले पाउनु पर्ने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अहिलेको समायोजनले राहत महशुस नहुने टिप्पणीसमेत गरे। प्रदेश अस्पतालमा डाक्टर अभावको प्रमुख कारण समायोजन नै भएको जिकिर गर्दै मन्त्री यादवले हरेक तीन महिनामा मन्त्रालयका सचिवहरू फेरिने गरेकोमा आक्रोश पोखे। प्रदेश अस्पताललाई पहिले विशिष्ट अस्पताल बनाउनुपर्ने अनि मात्रै शिक्षण अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड उनको छ।

सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा गम्भीर हुन आग्रह समेत गरेको मन्त्री यादवको भनाई छ। ‘कर्णाली र प्रदेश २ विगतदेखि नै हेपाहमा परेको क्षेत्र हो,’ उनले भने, ‘यी प्रदेशलाई समुन्नत बनाउन प्रदेश सरकारलाई विशेष अधिकार दिएर जनतालाई डेलिभरीसहितको सेवा प्रवाह गर्नुपर्छ।’

मन्त्री यादवले कर्णाली अस्पताललाई जनशक्तिसहित भौतिक पूर्वाधारमा बलियो बनाउन प्रदेश सरकारलाई निर्देशन दिए। ‘आवश्यक स्रोत साधन उपलब्ध गराउन मन्त्रालय कुनै कञ्जुसाई राख्ने छैन्’ मन्त्री यादवले भने। स्थानीय, प्रदेश र केन्द्र सरकारबीच पारस्परिक समन्वय नभएसम्म संघीय गणतन्त्रले सार्थकता नपाउने उनले उल्लेख गरे।

संघीय सरकारले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्थापन गरिदिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरे। भवन बनाउने, सामान खरीद गर्ने जस्ता काम प्रदेश सरकार गर्न सक्षम भएपनि प्राविधिक जनशक्ति आफूहरुसँग नभएकाले कर्णालीका जनशक्तिलाई कर्णालीमै पठाइदिन आग्रह गरे। पर्याप्त जनशक्ति नभएका कारण स्वास्थ्य सेवा प्रवाहमा ठूलो चुनौती आएको मुख्यमन्त्री शाहीको भनाइ छ।