कांग्रेससहितका ठूला दलले मधेशको शोषण गर्दैछन्– उपेन्द्र यादव - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

कांग्रेससहितका ठूला दलले मधेशको शोषण गर्दैछन्– उपेन्द्र यादव



राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेशी जनताको शोषण मात्रै गर्दै आएको दाबी गरेका छन् । अन्य दलले मधेशलाई भोट बैंक बनाएर शोषण मात्रै गरेकोले जसपा नेपालले मधेशलाई मुक्ति दिलाउने प्रतिबद्दता जाहेर गरेका छन् ।

सप्तरीको महदेबा गाउँपालिका स्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेशका जनताले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्ने बताए । शोषित उत्पीडित जनताको हकअधिकार स्थापित गराउन आफुहरु अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने ‘काँग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको छन्, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो ।’

पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे । अबको वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल मात्र रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे ।

विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने ‘सप्तरी मेरो जन्मभूमी हो, यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालय स्तरीय शिक्षा पनि यहीं प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएँ ।’

आफुले सप्तरीमा नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उनले भने ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ? । सचेत जनता भ्रमको खेती गर्नेहरुमाथि विश्वास नगर्ने अध्यक्ष यादवको दाबी छ ।