सामाजिक सञ्जालमा भाइरल भएको उपेन्द्र यादव काण्ड के हो ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सामाजिक सञ्जालमा भाइरल भएको उपेन्द्र यादव काण्ड के हो ?



काठमाडौँ – नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव एक टेलिभिजनको अन्तर्वार्ताको बीचमै उठेर बाहिरिएका छन् । एभिन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रूपमा पुगेका यादव अन्तरवार्ताकै क्रममा बीचबाटै बाहिरिएका हुन् ।

कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जबाफ नदिई यादव माइक फुकालेर अन्तर्वार्ता छोडेर हिँडेका थिए । अन्तर्वार्ता लिने पत्रकारले नयाँ पार्टीको गठनको शुभकामनासँगै ‘यो पार्टीले जनतालाई के दिन्छ ?’ भनेर प्रश्न गरेका थिए । त्यसको जबाफमा उपप्रधानमन्त्री समेत रहेका यादवले ‘तपाईँ मिडियामा हुनुहुन्छ, मिडियाले के दिन्छ ?’ भनेर प्रतिप्रश्न गरे । पत्रकारले नम्र भएर ‘हामीले त जनतालाई सुसूचित गरिरहेका छौँ’ भनेर जबाफ दिए ।

त्यसपछि यादवले ‘तपाईँलाई त प्रश्न गर्ने ढङ्ग पनि दिएको छैन, पहिला प्रश्न गर्ने शैली सिक्नुस्’ भन्ने जबाफ फर्काए । उनीहरूबीच विवाद लम्बिदै गयो र मन्त्री यादव माइक निकालेर हुत्याउँदै अन्तर्वार्ताबाट बाहिरिए । अहिले उनको कृयाकलापको चौतर्फि आलोचना भइरहेको छ । शिष्ट शैलीमै सोधिएको प्रश्नमा मन्त्री यादव आक्रोशित हुनु शोभनिय नभएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको हो ।