आगामी निर्वाचनबाट जसपा मधेश, पहाड र हिमालको साझा पार्टी बन्छ- उपेन्द्र यादव - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

आगामी निर्वाचनबाट जसपा मधेश, पहाड र हिमालको साझा पार्टी बन्छ- उपेन्द्र यादव



राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक भाइचाराको सम्बन्ध जोडेको बताएका छन् ।

सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सदस्यका प्रत्यासी समेत रहेका उनले आइतबार राजविराज स्थित विभिन्न पोखरीको छठ घाटहरुमा पुगेर देशको एकता एवम् समृद्धिको कामना गरेका हुन् । मधेशबाट मनाउन थालिएको छठ राष्ट्रिय पर्वको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै उनले भने ‘छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको छ, यो सम्पूर्ण नेपाली जनताको लागि खुशीको कुरा हो ।’

मधेशबाट शुरु भएको छठ पर्व जस्तै जनता समाजवादी पार्टी देशैभरि फैलिएको बताउँदै उनले आगामी निर्वाचनमा जसपा समेत मधेश, पहाड र हिमालको साझा एवम् राष्ट्रिय पार्टी बन्ने विश्वास व्यक्त गरे । मधेश र मधेशी शब्द स्थापित हुनु, मधेश प्रदेश बन्नु र मधेशी जनताले आफुलाई गर्वका साथ मधेश प्रदेशको वासिन्दा भन्न पाउनु तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै हालको आफुले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको सफलता भएको भनी जसपा अध्यक्ष यादवले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भईरहेकोले यसपाली जसपाका उम्मेदवारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुले आफ्नो ताकत देखाउन समेत उनले आह्वान गरे । सम्पूर्ण नेपाली जनताको सुख, समृद्धि एवम् कल्याणका लागि छठी मातासँग कामना गर्दै अध्यक्ष यादवले शुभकामना व्यक्त गरे ।