उपेन्द्र यादवमाथि संकट: पदबाट हटाउने तयारी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

उपेन्द्र यादवमाथि संकट: पदबाट हटाउने तयारी



काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि संकट देखिएको छ । उनको कार्यशैलीबारे प्रश्न उठाएको समूहले यादवलाई पदबाट हटाउन तयारी गरेको छ ।

उपेन्द्र यादव पछि हटेनन् भने जसपा फुट्ने वा यादवमाथि कारबाही हुने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्।

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् ।

भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। ‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव)कै हातमा छ’ – भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौँ । तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’