उपेन्द्र यादवलाई संसदमै र्‍याख्र्‍याख्ती - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

उपेन्द्र यादवलाई संसदमै र्‍याख्र्‍याख्ती



काठमाडौं– मुलुकमा डेंगुको महामारी फैलिरहेको समयमा सरकारका विभागीयले मन्त्री विदेश भ्रमणमा शयर गरेको भन्दै सांसदहरूले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चर्को आलोचना गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा देशभर डेंगुको अवस्थाबारे सार्वजनिक महत्त्वको विषयमा मन्तव्य राखेपछिको छलफलमा सत्तारुढ र प्रतिपक्षी सांसदहरूले प्रश्न गर्दै देशमा डेंगुको महामारी फैलिएको अवस्थामा विदेश भ्रमण गरेकोमा आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसकी पार्वती डिसी चौधरीले साउन १ गतेदेखि देशमा डेंगुको महामारी फैलिएपनि २ महिनापछि संसद्मा जवाफ दिन आउनु गैरजिम्मेवारी भएको आरोप लगाइन् ।

‘साउन १ गतेदेखि डेंगु फैलिएको थियो, असोज १ गते आएर जवाफ दिनुभयो यो बीचमा उहाँ कहाँ जानुभएको थियो ? मन्त्रीज्यूलाई विदेश भ्रमणको मोह छ, फेरि जाँदै हुनुहुन्छ । नेपाली जनताले यस्तै मन्त्री खोजेका हुन्, धन्यवाद !’ चौधरीले भनिन् ।

कांग्रेसकै देवप्रकाश तिमिल्सिनाले देशका अस्पतालमा डेंगु रोगीको रगत परीक्षण गर्ने ठाउँ नभएको अवस्थामा मन्त्री विदेश भ्रमणमा गएको भन्दै आपत्ति जनाए ।

नेकपाका कृष्ण गोपाल श्रेष्ठले स्वास्थ्य मन्त्री र राज्यमन्त्री गैरजिम्मेवार भएको आरोप लगाए ।

‘सभामुखले रुलिङ गरेपछि मात्र संसद्मा उपस्थित हुने, यस्तो खालको गैरजिम्मेवारीप्रति उहाँको जवाफ के छ ? तीन–चार बजेदेखि रगत परीक्षण गराउन लाइन बसेका हुन्छन् । मन्त्री र राज्यमन्त्री टेकु अस्पतालमा जानुभएको छ ?’ उनले प्रश्न गरे ।

लामखुट्टेश्वर महादेव स्थापना गर्न आग्रह

सत्तारुढ सांसद् विरोध खतिवडाले सरकारले डेंगु नियन्त्रणमा काम नगरेको भन्दै लामखुट्टेश्वर महादेव स्थापना गरेर शरण पर्न सुझाव दिए ।

‘हाम्रो देशमा अरूले नभएपछि देवी देवता गुहार्ने प्रचलन छ, २०४८ सालमा संसद् सचिवालय परिसर संसदेश्वर महादेव स्थापना गरिएको छ, संसद्‍मा केही नहोस् भनेर । मेरो निर्वाचन क्षेत्रमा लटरम्मेश्वर महादेवको स्थापना गरिएको छ, फलफूल लटरम्म फलोस् भन्नका लागि । सन्तान नहुनेका लागि सन्तानेश्वर महादेव छ,’ खतिवडाले भने, ‘डेंगु नियन्त्रण गर्नका लागि अब लामखुट्टेश्वर महादेव स्थापना गरेर अभियान चाल्ने कि ?’