भनेजति सिट नपाए गठबन्धन छोड्ने उपेन्द्र यादवको घोषणा
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलले उचित सम्मानका साथ सीट नदिएमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्।
जनकपुरमा शनिबार राष्ट्रिय पिछडावर्ग महासंघ (ओबीसी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले गठबन्धनको नाममा आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए। “हामीलाई सम्मानजनक स्थान नदिए जसपा गठबन्धनमा बस्न बाध्य हुने छैन,” यादवले भने।
लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधि सभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उत्रिएको उल्लेख यादवले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए। “लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन ग¥यो,” जसपा अध्यक्ष यादवले भने, “आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदै छ।”
जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय नगर्ने उनको भनाइ थियो। “मधेसको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भुल भईरहेको छ,” यादवले भने, “जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिस्टले नगरोस्, चेतावनी दिन चाहन्छु।”
जसपा अझै पनि गठबन्धनको पक्षमा रहेको उनको भनाइ थियो। तर, सम्मानजक सीट नपाएमा भने अलग हुने उनको चेतावी थियो।
आगामी प्रतिनिधि सभा र प्रदेश सभामा पाँच दलीय गठबन्धनले तालमेल गर्ने निर्णय गरेको छ। चार सातादेखि सीट बाँडफाँडका लागि प्रयास हुँदै आए पनि सहमति जुट्न सकेको छैन।