उपत्यकाका १८ बटा नगरपालिकाले एकीकृत योजना बनाउने, चिरीबाबु अध्यक्ष - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

उपत्यकाका १८ बटा नगरपालिकाले एकीकृत योजना बनाउने, चिरीबाबु अध्यक्ष



काठमाडौँ- उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका तीन जिल्लाका १८ वटै नगरपालिकाले एकीकृत योजना बनाउने भएका छन्।

सबै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने रणनीति बनाउन लागेका हुन्। उपत्यकाको एकीकृत विकासका लागि केही दिनअगाडि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा काठमाडाैँ उपत्यका नगरपालिका फोरमको नयाँ कार्यसमिति चयन भएको छ।

आपसमा भूगोल जोडिएका उपत्यकाका कतिपय नगरपालिकाले आपसी समन्वय र सहकार्य गर्न नसक्दा अहिले अन्तरपालिका जोड्ने कतिपय योजना कार्यान्वयनमा आउन सकेका छैनन्। नगरपालिका फोरमका अध्यक्ष महर्जनले उपत्यकाका सबै नगरपालिकाको समस्या र समाधान एउटै प्रकृतिको भएकाले साझा समस्याबारे सामूहिक रूपमा समाधान गर्ने गरी योजना बनाउन लागिएको बताए।

उनकाअनुसार उपत्यकामा देखिएका फोहोरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार विकास, ट्राफिक समस्या समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषियोग्य जमिनको संरक्षण गर्ने योजना बनाइनेछ।

सेवा प्रवाहको प्रकृतिलाई वर्गीकरण गरी क्रमिक रूपमा प्रविधिमैत्री बनाउँदै जाने, विभिन्न स्थानमा एकीकृत तरकारी बजारको व्यवस्थापन गर्ने, उपत्यकाका सबै नगरपालिकामा करको दर र दायरामा एकरूपता कायम गर्नेलगायतका सामूहिक समस्याको सामूहिक रूपमा समाधान गर्ने योजना रहेको छ।

उपत्यका नगरपालिका फोरमका सचिव एवं टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले उपत्यकाकाको दिगो विकासका लागि सामूहिक रूपमा पहल गर्ने गरी योजना बनाउन लागिएको बताए। उनले उपत्यकामा फोहोर व्यवस्थापन प्रमुख समस्या रहेको भन्दै सम्पदा संरक्षण पर्यटकीय पूर्वाधार र सामूहिक रूपमा खेलकुदको विकास गर्ने गरी एकीकृत रूपमा रणनीति बनाइने बताए।

उनले भने, “उपत्यकाको दिगो विकासका लागि सामूहिक रूपमा अपनत्व महसुस गर्ने गरी उपत्यकाका सबै नगरपालिकाले योजना बनाउनेछौँ।” उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले सामूहिक काम गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट सामूहिक कोष निर्माण गरेर काम गर्न सकिने बताए।

उपत्यकाका सबै पालिकाले आ–आफ्नो भूगोलभित्र पर्ने सार्वजनिक जग्गा संरक्षण गरी सो स्थानमा सामूहिक लगानीमा आकर्षक पार्क निर्माण गर्ने, कृषियोग्य जमिनमा कृषि उत्पादन मात्र गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अन्तरपालिका सहकार्य र सहयोग आदान–प्रदान गर्ने गरी योजना बनाइने उपत्यका नगरपालिका फोरमले जनाएको छ। आगामी एक वर्षभित्र सबै योजना कार्यान्वयनमा ल्याउने गरी फोरमले योजना बनाउने उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ।