होसियार ! कोरोना ‘इपिसेन्टर’ बन्दैछ काठमाडौं उपत्यका
काठमाडौं । लकडाउन खुकुलो भएसँगै राजधानी काठमाडौं भित्रनेहरूको संख्या बढ्दै गएकामा लकडाउन हटेपछि सो संख्या झनै बढेको छ । राजधानी भित्रनेको संख्या बढ्दै गएपछि कोरोना संक्रमणको जोखिमसमेत बढ्दै गएको छ ।
सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो गर्दै जोर बिजोर प्रणालीमा सवारी चल्न दिने, पसल तथा व्यवसाय खुला गर्ने तथा सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै उपत्यका बाहिरबाट राजधानी भित्रनेको संख्या बढ्न थालेको थियो ।
कोरोना संक्रमितको संख्या दुई जना मात्र हुँदा सरकारले ११ चैतदेखि मुलुकभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयसँगै विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको राजधानीबाट बाहिरिने क्रम बढेको थियो । तर, असार दोस्रो सातादेखि लकडाउन खुकुलो गरेको सरकारले ६ साउनबाट लकडाउन पूर्ण रूपमा हटाउने निर्णय गरेको थियो ।
सरकारको सो निर्णयसँगै राजधानीमा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू धमाधम फर्कन थालेका थिए ।
प्रहरी स्रोतका अनुसार लकडाउन खुकुलो भएको समय असार दोस्रो सातादेखि हालसम्म करिब २ लाख व्यक्ति विभिन्न नाका हुँदै राजधानी काठमाडौं भित्रिएका छन् ।
यसरी विभिन्न जिल्लाबाट भित्रनेको संख्या धमाधम बढ्न थालेपछि काठमाडौं उपत्यकामा कोरोनाको जोखिमसमेत बढ्दो क्रममा देखिएको छ । सरकारले उपत्यकामा जोखिम बढेसँगै बिहीबारबाट फेरि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर उपत्यका भित्रने नाकाहरूमा भने चेकजाँच फितलो देखिएको छ । विभिन्न जिल्लाबाट पासविना आउनेहरू चेकजाँच छल्दै सहजै प्रवेश गर्दै आइरहेका छन् ।
महाशाखाका अनुसार लकडाउन खुकुलो भएपछि काठमाडौं भित्रनेको संख्या बढ्न थालेकामा हाल दैनिक ५ देखि ६ हजार व्यक्ति काठमाडौं प्रवेश गर्दै आइरहेका छन् । तर, यो संख्या भने पास लिएर आउनेहरूको मात्रै भएको महाशाखा बताउँछ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले हाल दैनिक ५ देखि ६ हजार व्यक्ति विभिन्न नाका हुँदै राजधानी काठमाडौं भित्रँदै आएको बताए ।
‘अहिले दैनिक पाँच–छ हजार व्यक्ति उपत्यका बाहिरबाट विभिन्न्न नाका हुँदै काठमाडौं आइरहेको देखिन्छ,’ महाशाखा प्रमुख ढकालले भने । महाशाखाका अनुसार राजधानी भित्रनेहरूमध्ये ७५ प्रतिशत व्यक्ति नागढुंगा नाका हुँदै आइरहेका छन् भने बाँकी साँगा, फर्पिङ, भीमढुंगा, नाङ्लेभारे, नाला र टोखा हुँदै आइरहेका छन् ।
महाशाखा प्रमुख ढकालले भने पास लिएर आउने सवारी साधनहरूलाई मात्र उपत्यकामा प्रवेश दिइने गरेको तर पासविना आउने सवारी साधनहरूलाई भने फर्काइने गरिएको बताए ।
उनले लकडाउनको समयमा राजधानीबाट बाहिरिनेको संख्या भित्रनेको भन्दा बढी रहेकामा अहिले भित्रने र बाहिरिनेको संख्या उस्तै हाराहारीमा रहेको जानकारी दिए ।
सरकारले ६ साउन रातिबाट लकडाउन हटाए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै लामो दुरीका सवारी सञ्चालन भने खुला गरेको छैन । अहिले पनि एक जिल्लाबाट अर्को जिल्लामा जान पास अनिवार्य छ ।
तर, उपत्यका बाहिरबाट राजधानी भित्रने अधिकांश चारपांग्रे सवारी साधनले पटक पटक उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूको पास देखाएर यात्रु ओसारपसार गर्दै आइरहेका छन् ।
राजधानीलाई प्राप्त सूचनाअनुसार उपत्यका बाहिरबाट एउटै सवारी साधन पटक पटक यात्रु बोकेर राजधानी भित्रिएका छन् । सवारीधनीहरूले काठमाडौं आउनका लागि चिनजान तथा भनसुनका आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिने गरेको पाइएको छ ।
यसरी लिइएको पासमा पृथ्वी राजमार्ग र बिपी राजमार्गमा पर्ने मुख्य जिल्लाहरूको नाम लेखिने गरेको नाकामा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । सवारीधनीले वर्षाको मौसमका कारण बाटो फेरबदल हुन सक्ने भन्दै पासमा सिन्धुली, मकवानपुर र काभ्रे जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको उपत्यका भित्रने नाकामा खटिएका प्रहरी अधिकृतहरूको भनाइ छ ।
यसरी पास लिएपछि राजधानी आउन उनीहरूले कुनै अवरोध नहुने भन्दै सेटिङमै यात्रु खोज्ने र उनीहरूबाट चर्को भाडा असुल्ने गरिरहेका छन् । राजधानी आउने यात्रु ओसार्न अहिले धेरै जसो स्कार्पियोको प्रयोग हुँदै आइरहेको छ ।