असार १० गते उपत्यका बन्द - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

असार १० गते उपत्यका बन्द



काठमाडौं: हिन्दू धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी १० असारमा काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन् ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी १० असारमा उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो ।

समितिले सो विधेयकको विरोधमा २ असारबाटै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २ असारमा विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, ५ असारमा काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दू महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।