प्रधानमन्त्रीको उपचार प्रक्रिया नै विवादमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ निवास फर्किए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको हेमोडायलासिस गरिएको थियो ।
प्रधानमन्त्री ओली दुई दिन अस्पतालमा रहँदा थुप्रै नेपालीले उनको स्वास्थ्यवस्था बारे चासो राखे । तर, उनका निकटतम व्यक्तिले प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्था बारे सूचना दिन आनाकानि गरे ।
अस्पताल स्रोतका अनुसार ओलीको सचिवालय र उनका निजी चिकित्सकले अस्पतालका मेडिकल डाइरेक्टरदेखि अन्य चिकित्सकलाई ओलीको स्वास्थ्य अवस्थाबारे थाहा भए पनि थाहा छैन भन्नु भन्ने निर्देशन दिइको पाइएको छ ।
मुलुककै विशिष्ट व्यक्ति प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारबारे सूचना लुकाउनु पर्ने कारण के होला भन्दै उनकै उपचारमा संलग्न चिकित्सकहरु अचम्मित भएको ती चिकित्सकको भनाई छ।
आफ्नो देशको प्रधानमन्त्रीको स्वास्थ्यवस्था बारे जनताले चासो राख्नु स्वभाविकै हो । सबैले ओलीको स्वास्थ्यलाभको नै कामना गरिरहेका थिए । यसरी जनतालाई गुमराहमा राखेर उपचार गरिनुले उनी प्रतिको जनताको विश्वास थप खस्किने छ । यसरी स्वास्थ्यवस्था लुकाइएकोमा जनताले सामाजिक सञ्जालमा चर्को आलोचना समेत गरेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यवस्थालाई गोप्य राख्ने निर्देशन दिनुले उनको उपचारमा संलग्न चिकित्सक नै चकित परेका छन् । उनीहरूले प्रधानमन्त्री निकट व्यक्तिले उक्त निर्देशन मात्र दिएको नभइ सुरक्षा कर्मीले कतै भनिहाल्छन् कि भनेर पछ्याएको र आफूहरूको मोबाइलको समेत निगरानी गरिएको दुखेसो पोखेका थिए ।
बिहीबार बेलुकी करिव आठ बजेतिर ओलीलाई अस्पतालबाट डिस्चार्ज गरियो । उनले निवास फर्कने क्रममा अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिएका थिए ।
उनले भनेका थिए, ‘म ठिक छु ।’ निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महसुस गरेको उनको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वास्थ्य समस्यामा नरहेको आत्मविश्वास देखाइरहेका थिए । उनी हाँस्दै गाडी चढेका थिए ।
उनको स्वास्थ्यवस्था बुझ्न नेतपाका नेता र कार्यकर्ताको अस्पतालमा बाक्लो उपस्थिति थियो । यस्तो अवस्थामा प्रधानमन्त्रीको स्वास्थ्यवस्था लुकाइनु पक्कै पनि उपयुक्त होइन ।