यस्तो छ उपनिर्वाचन तालिका, ५२ रिक्त पदमा निर्वाचन हुँदै - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

यस्तो छ उपनिर्वाचन तालिका, ५२ रिक्त पदमा निर्वाचन हुँदै



काठमाडौं । निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कूल ५२ रिक्त पदमा हुने उपनिर्वाचनका लागि आयोगले उम्मेदवारको मनोनयनदेखि निर्वाचनसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनका लागि २१ कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता हुने बताएको हो । यस्तै स्थानीय तहको उपनिर्वाचनका लागि भने २७ कात्तिकमा मनोनयन दर्ता हुनेछ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले उपनिर्वाचनका लागि तयारी तिव्र पारेको र सोही अनुसार कार्यतालिका समेत सार्वजनिक गरेको जनाए ।

‘आयोगले उपनिर्वाचनको तयारी तिव्र बनाएको छ, सोही अनुसार आयोगले कार्यतालिका ल्याएको हो, छिट्टै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु पनि तोकिन्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एकसहित स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४८ गरी कूल ५२ रिक्त पदमा उपनिर्वाचनको तयारी छ ।

प्रतिनिधिसभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र नम्बर १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा १४ मंसिरमा उपनिर्वाचन हुने छ ।

आयोगले प्रकाशित गरेको तालिका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि २१ कार्तिकमा मनोनयन दर्ता हुने छ । यस्तै २२ कार्तिकमा उम्मेदवारको विरोधमा उजुरी दिने, २३ कार्तिकमा मनोनय र उजुरीमाथि जाँचबुझ गर्ने, २४ कार्तिकमा उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा २५ कार्तिकमा निर्वाचन चिन्ह प्रदान गर्ने र १४ मंसिरमा निर्वाचन हुने जनाएको हो ।

यस्तै स्थानीय तहतर्फ निर्वाचन हुने ४८ पदका लागि भने २७ कार्तिकका दिन मनोनयपत्र दर्ता गर्नु पर्ने छ । मनोनयन दर्ता पछि सोही दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २८ कार्तिकमा उम्मेदवारको विरोधमा उजुरी दिने, २९ कार्तिकमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी १ मंसिरमा निर्वाचन चिन्ह दिने जनाएको छ ।

प्रधानमन्त्री सन्तुष्ट

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोगले गरिरहेको तयारी प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुष्टी जनाएका छन ।

प्रधानमन्त्री ओलीले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि आयोगबाट भइरहेको तयारी प्रति आफू सन्तुष्ट रहेको भन्दै आयोगलाई सरकारले निर्वाचनका लागि पूर्ण सहयोग गर्ने बताए । आयोग पदाधिकारीसँग प्रधानमन्त्री ओलीले उपनिर्वाचन तयारीबारे आइतबार जानकारी लिएका थिए ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रधानमन्त्रीलाई उपनिर्वाचन तयारी तथा भइरहेका काम बारे जानकारी गराएको बताए ।

सो बखत प्रधानमन्त्री अ‍ेलीले उपनिर्वाचनका लागि आयोगलाई सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने बताएको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका हुन् ।

आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले केही शक्ति निर्वाचनमा भाग नलिने तथा बहिष्कार गर्ने भन्दै हिडेको सुनिएको भन्दै भय रहित रुपमा काम गर्न आयोगलाई हौसला दिएका छन । प्रधानमन्त्री ओलीले शान्तिसुरक्षाको समेत सरकारबाट आयोगलाई पूर्ण प्रत्याभूति दिएका छन् । राजधानीमा खबर छ