यी हुन् राष्ट्रिय सभाका लागि प्रचण्डले छानेका माओवादीका ५ उम्मेदवार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

यी हुन् राष्ट्रिय सभाका लागि प्रचण्डले छानेका माओवादीका ५ उम्मेदवार



काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ। राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ।

त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।