१९ बैंक लुटिनबाट जोगाउने त्यो एउटा म्यासेज - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

१९ बैंक लुटिनबाट जोगाउने त्यो एउटा म्यासेज



काठमाडौं । रातिको ८ बजेको थियो जनता बैंकका खातावाल गोपालमान राजवाहाकको मोबाइलमा म्यासेज आयो । खाताबाट १९ लाख ९९ हजार चैट भएको म्यासेजले उनि हैरान भए ।

आफूले रकम नझिकेको र चेक पनि कसैलाई नदिएको अवस्थामा रकम झिकिएको म्यासेजले राजवाहाक चिन्तामा परे ।

उनले तत्काल प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी परीसरको टोलीले सूचना पाएलगत्तै सक्रियता बढायो । परीसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी भन्छन्,‘‘सूचना पाएलगत्तै हामी सक्रिय भयौं । केही समयमै सफलता पनि हात पर्‍यो ।

समयमै खबर नआएको भए १९ बढी बैंकबाट रकम लुटिने रहेछ ।’’ सूचना पाएलगत्तै प्रहरीले सम्वन्धित वैक तथा राष्ट्र वैकका उच्च अधिकारीहरुसंग छलफल गर्‍यो ।

एसएसपी सुवेदीका अनुसार पीडितको खाता चेक गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नँया चेकबुक निकाल्न सफल भई नँया चेकबाट पैसा निकालेको पाइएको छ । सोमबार प्रहरीले गिरोहको खोजी गर्न थाल्यो ।

एकजना राजवाहाककै चेक बोकेर जनता बैंक न्युरोड शाखामा पुगेको अवस्थामा प्रहरीको फन्दामा परे । उनको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरुका ठूलो परिमाणमा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, विभिन्न तीन सय व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका हस्ताक्षरका नक्कलहरु बरामद गरेको छ ।

अनुसन्धानकै क्रममा ६ जना पक्राउ परेका छन । एसएसपी सुवेदी भन्छन,‘‘पक्राउ परेका सबै आइटी पढेका विद्यार्थी छन । उनीहरु सबैको उमेर ३० मुनी छ । उनीहरुले प्लान गरेर नै ठगी गरेको देखिन्छ ।’’

उनीहरुले बैंकमा खाता रहेका व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी गरेर राजवाहाकको नाममा चेक हराएको निवेदन समेत दिई नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं पैसा निकाल्न सफल भएको देखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अनुसन्धानकै क्रममा कयौं व्यक्तिहरुको नाममा रहेको खाताको सयौं थान सक्कली चेक लिएको पाइएको छ ।

गिरोहले खातावालाको कागजपत्र चोरेर सक्कली भिसाकार्डसमेत प्रयोग गरेको देखिएको परीसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले बताए । डीएसपी बोगटीले सम्बन्धित बैंकका कर्मचारीहरुको मिलोमितो तथा लापरबाहीसमेत देखिएको र त्यसतर्फ पनि अनुसन्धान केन्द्रित भएको बताए ।

बुधबार प्रहरीले पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, काठमाडौं बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र काठमाडौं सुविधानगर बस्ने ३० वर्षीय गोबिन्द घिमिरे छन् ।

बरामद गरिएका सामन :

नेपाली नगद रू. १८, ५०,०००।

विभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपि पाना २९०

विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर थान २६

विभिन्न प्रकार हस्ताक्षर नमुना र विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी थान २

विभिन्न व्यक्तिको खाता खोल्न फोटो टासेको तयारी फाराम थान ३००, १९५ जनाको विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट

जनता बैंक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक थान १६ र काटिएको अवस्थाको चेकबुक थान ४१

ज्योती विकास बैंक लिमिटेडबाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान १

एभरेष्ट बैक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक थान २० र काटिएको अवस्थाको चेकबुक थान ३

माछापुच्छ्रे बैक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक थान १७ र काटिएको अवस्थाको चेकबुक थान २

मुक्तिनाथ विकास बैंक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ४१ र नकाटिएको चेकबुक थान १

एनआईसी एशिया बैंक लिमिटेडबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ६८

विभिन्न ब्यक्तिहरूको फोटो ८२५ थान

एनआईसी एशिया बैकको एटिएम कार्ड थान ८२, तथा विभिन्न वैकको एटिएम कार्ड थान ७

विभिन्न व्यक्तिहरुको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैकबाट बिभिन्न व्यक्तिका नाममा जारी भएका चेकहरू थान ३२९

अन्य बैंकसँग सम्वन्धित विभिन्न डकुमेन्ट हरु २ बोरा