त्रिशूली नदीमा कन्टेनर खस्यो,चालक बेपत्ता - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

त्रिशूली नदीमा कन्टेनर खस्यो,चालक बेपत्ता



काठमाडौं— नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ ।

इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

कन्टेनर सडकबाट करीब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले बताएको छ ।
घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।कन्टेनरसँग ठक्कँर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
(रासस)