नेपाल बन्दमा ट्राफिक प्रहरीको नयाँ काम.. - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

नेपाल बन्दमा ट्राफिक प्रहरीको नयाँ काम..



कपिलवस्तु –

बन्दको बेला सवारी साधन नचल्ने हुनाले ट्राफिक प्रहरीलाई समय कटाउन गाह्रो हुने गरेको देखिएको छ तर कहिलेकाहीँ ट्राफिक प्रहरीका लागि पनि बन्द उपयोगी हुन्छ। यस्तै उपयोगिता विप्लव माओवादीको हिजोको बन्दमा कपिलवस्तुमा देखियो।

बन्दले गर्दा ठूला सवारी साधन खासै चलेका थिएनन् । तर कपिलवस्तु ट्राफिक प्रहरीको हात भने दिनभर चलेका थिए । ट्राफिक प्रहरी मङ्गलबारे बन्दका दिन हातमा रङ लगाउने ब्रस लिएर सडकमा उत्रेका थिए । उनीहरूले बुद्धभूमिका ५ स्थानमा जेब्रा क्रसिङ बनाएका छन्। ती स्थानहरू बुद्धभूमि नगरपालिकाको गोरूसिङ्गे बजार, बूढ्ढी चोक, इमिलिया बजार र चौवन्न चोक रहेका छन्। गोरूसिङ्गे बजारमा २ वटा जेब्रा क्रसिङ बनाइएको छ।

बन्दको दिन सवारी साधन नचल्ने हुँदा “जेब्रा क्रसिङ” बनाउन समय सदुपयोग गरेको उनीहरू बताउँछन् । प्रहरी निरीक्षक बाबुराजा पन्थअनुसार विगत लामो समय देखि यहाँ ‘जेब्रा क्रसिङ’ बनेको थिएन । पुराना  भएका स्थानमा पनि जेब्रा क्रसिङको रङ उडेर देख्‍नै नसकिने भएको थियो। यसले दुर्घटना पनि बढी हुने गरेको थियो।

बन्दको सदुपयोग गरिएको पन्थले बताए । ट्राफिक प्रहरीको श्रम र बुद्धभूमि नगरपालिकाको रङ सहयोगमा ‘जेब्रा क्रसिङ’ निर्माण भएको थियो ।