अब ट्राफिक जरिवाना तिर्न बैंक जानु नपर्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अब ट्राफिक जरिवाना तिर्न बैंक जानु नपर्ने



काठमाडौँ– महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु–पेको किअस्क मेसिन उद्‌घाटन गरेका हुन्।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए। उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने बताउँदै यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिलाई क्रमशः परिस्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ।

प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरी सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।

महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो। पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र QR Payment बाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन्।