'टोकसो'मा परेपछि खुमलटार छोड्ने भए प्रचण्डले - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

‘टोकसो’मा परेपछि खुमलटार छोड्ने भए प्रचण्डले



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू खुमलटारबाट डेरा सर्ने बताएका छन् । प्रतिनिधिहरुले उठाएका विषयलाई प्रतिवेदनमा समेट्ने प्रतिवद्धता व्यक्त गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पार्टीको जारी महाधिवेशनमा आफ्नै कार्यकर्ताले जीवनशैलीमाथि प्रश्न उठाएपछि उनले खुमलटार छोड्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको प्रतिवेदनमाथि २५ समूहमा भएको छलफलपछि टोली नेताहरुले दुई दिन लगाएर निष्कर्ष सुनाएका थिए।

टोली नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले लिपुलेक लिम्पियाधुरा कालापानीलगायतका क्षेत्रलाई प्रतिवेदनमा समेट्न छुटैको भन्दै त्यसलाई समावेश गर्ने बताए।

विभिन्न समूहमा अध्यक्ष प्रचण्ड ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेको भन्दै उनी त्यहाँबाट सर्नुपर्ने आवाज उठेको थियो। त्यसको जवाफ दिँदै प्रचण्डले आफू खुमलटारबाट डेरा सर्ने र त्यसका लागि ठाउँ खोजिरहेको बताए।

‘तपाईंहरुले उठाएको कुरा ठिक छ, खुमलटारबाट डेरा सर्छु। ठेकेदारको घरमा बसेको विषय धेरै उठ्यो, अब डेरा सर्छु’ उनले भने।
एमसीसीबारे आफ्नो प्रतिवेदनमा लेखिएको विषय नै पार्टीको लाइन रहेको प्रचण्डले बताए।

एमसीसीबारे प्रतिनवेदनमा खास केही उल्लेख नभएको र यसलाई खारेज गरौं भन्ने सुझाव प्रतिनिधिबाट आएको भए पनि प्रचण्डलले भने ‘एमसीसीका विषयमा राजनीतिक दस्तावेजमा जे उल्लेख छ त्यहीँ हुन्छ। थप छलफल गर्नु पर्दैन । पार्टीको लाइन त्यहीँ हो।’

उनले पार्टी केन्द्रीय सदस्यहरु काठमाडौंमै बढी बस्दा पार्टी संगठन कमजोर भएकाले अब काठमाडौंमा बस्न नपाउने र आ-आफ्नो क्षेत्रमा खटिने निर्णय गरिने बताए।

‘काठमाडौमा बसेर पार्टी बन्दैन केन्द्रीय सदस्यले आफ्नो क्षेत्र जानू पर्छ’ प्रचण्डले भने।