एकाएक मौसम बदली: कहाँ कहाँ छ वर्षाको सम्भावना ? - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

एकाएक मौसम बदली: कहाँ कहाँ छ वर्षाको सम्भावना ?



काठमाडौं- आज (आइतबार) देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अुनसार यतिबेला काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम आंशिक बदली भएको छ भने पश्चिमका सबै स्थान र पूर्वको तराई क्षेत्रमा मौसम सामान्य बदली भएको छ।

यसैगरी दिउँसो पनि देशका पश्चिमी क्षेत्रलगायत अन्य स्थानका पनि पहाडी भेगमा मौसम सामान्य बदली रहने र पश्चिम पहाडका एक/दुई स्थानमा छिटफुट वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बेलुकासम्म पश्चिम पहाडका एक/दुई स्थानमा हल्का वर्षा तथा पश्चिमकै उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको छ,’ मौसमविद्ले भने, ‘तर यसले खासै जनजीवनमा प्रभाव पार्ने देखिन्न।’

यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार अहिले देशमा भइरहेको बदली पश्चिमी वायुको प्रभावले हो।

उनका अनुसार ‘माहा’ नामकरण गरिएको अर्को शक्तिशाली चक्रवात् अरब सागरको दक्षिणपूर्वि भागमा विकास भइरहेको छ र यो प्रणाली उत्तर-पश्चिम दिशातर्फ बढिरहेको देखिन्छ। तर तत्कालै यसकाे प्रभाव नेपालमा पर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘यसअघि क्यार नामक चक्रवात् थियो, त्यो हटिसक्यो, यो अर्काे विकास भएको हो,’ नेपालखबरसँग कुरा गर्दै वरिष्ठ मौसमविद् पौडेलले भने, ‘तर तत्काल यसको असर नेपालमा पर्ने सम्भावना देखिएको छैन, केही गरी यसले आफ्नो दिशा परिवर्तन गरी प्रभाव पर्यो भने पनि विशेष गरी पश्चिमी क्षेत्रमा बादल देखापर्ने, हिमपात हुने हुन सक्छ।’