मृतक तिमल्सिनाको स्थिति बुझ्न महाबाणिज्य दूतावास हंगकंगले प्रतिनिधि खटायो। - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

मृतक तिमल्सिनाको स्थिति बुझ्न महाबाणिज्य दूतावास हंगकंगले प्रतिनिधि खटायो।



कर्ण अधिकारी/मकाउ

मकाउमा विगत ७ वर्षदेखि कार्यरत खिम नारायण तिमल्सिना कम्पनीको स्टाफ ट्वाइलेटमा मृत भेटिएका छन् ।

मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत उनको स्थायी घर पर्वत र हाल काठमाण्डौ घर भएका खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा आज बिहान ९ बजे कार्यरत रहेको कम्पनीको स्टाफ ट्वाइलेटमा मुखबाट रगत बान्ता गर्दै गरेको अवस्थामा फेला पारेसँगै तुरुन्तै सरकारी अस्पताल सान्तेन ल्याएको र अस्पताल ल्याउन साथ अस्पतालले मृत घोषित गरेको थियो।

मृतक तिमल्सिनाको शवलाई मकाउ स्थित सान्तेन हस्पिटलमा राखिएको छ।मृतक तिमल्सिनाको श्रीमती र दुई छोराहरू रहेको छन्।मृत्यु भएका तिमल्सिनाको बारेमा नेपाली जनसम्पर्क समिति मकाउले हंगकंग मकाउ हेर्ने नेपाली महाबाणिज्य दूतावास हंगकंगका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईलाई जानकारी गराएको थियो।

जानकारी पाएसँगै महाबाणिज्यदूत कमल प्रसाद भट्टराईले तत्कालै २ जना प्रतिनिधि खटाएका छन्।महाबाणिज्य दूतावासबाट विश्वास भट्ट र गजेन्द्र भट्टराई प्रतिनिधि भएर मकाउ आएका हुन् । उनीहरू आजै सरकारी हस्पिटल सान्तेन पुगेको र घटनाको बारेमा बुझ्ने प्रयास गर्दा कानुनी प्रक्रिया अनुसार मकाउ प्रहरीले भोलि बिहान ११:०० बजे पछि मात्र जानकारी गराउने भनेपछि आजै हंगकंग फर्की सकेका छन् । भोलि पुन: मकाउ आउने छन् ।

मकाउमा विगतमा पनि यस्ता घटना नघटेका भने होइन तर विविध कारणले नेपाल सरकारको तर्फबाट केही ढिलासुस्ती भए पनि आजको यो घटनामा भने छिटो प्रतिक्रिया दिएकोमा मकाउमा कार्यरत रहेका नेपालीहरूले महाबाणिज्य दूतावास हंगकंगलाई हार्दिक आभार प्रकट गरेको छ।

विगतमा मकाउमा मृत्यु भएका नेपालीहरूको पार्थिव शरीरलाई नेपाल पुराउन सकिएको छैन।यस विषयमा नेपाली महाबाणिज्य दूतावास हंगकंगले गम्भीर भएर पार्थिव शरीरलाई नेपाल लैजानका लागि सरकारी तवरबाट कुरा गर्न जरुरी छ।