शंकरनगर वन विहारमा झण्डै १४ करोड लागतकाे १० तल्ले तिलोत्तमा भ्यू टावर शिलान्यास - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

शंकरनगर वन विहारमा झण्डै १४ करोड लागतकाे १० तल्ले तिलोत्तमा भ्यू टावर शिलान्यास



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भ्यू टावर बन्ने भएको छ ।

तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको १३ करोड ५८ लाख रुपैयाँको संयुक्त लगानीमा १० तलाको भ्यु टावर बन्न लागेको हो ।

बिहीबार शिलान्यास भएको भ्यू टावर १ सय ३३ फिट अग्लो र भुइँ तला ३ हजार ५ सय ९५ दशमलव ८९ वर्गफिटको हुनेछ । भ्यू टावर भवन २ कठ्ठा क्षेत्रफलमा बन्ने छ भने भ्यू टावर अन्तर्गत् विभिन्न पर्यटकीय पूर्वाधार र संरचनाहरु २ बिघा क्षेत्रफलमा बन्ने छन् । लिफ्ट सुविधासहित बन्ने भ्यू टावरको सुविधायुक्त रेष्टुराँहरु र पर्यटक विश्रामका लागि बास बस्न मिल्ने वातानुकूलित कोठाहरु, लाइब्रेरीलगायत संरचनाहरु बनाउने गरी डिजाइन गरिएको छ ।

चालु आर्थिक वर्षमा भ्यू टावरका लागि तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । भ्यू टावर निर्माणको कूल वजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले ब्यहोर्ने छन् । भ्यु टावरको निर्माण चार वर्षमा पूरा गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी प्राकृतिक निर्माण प्रा.लि.ले बजेट व्यवस्थापन भएमा दुई वर्षमैं निर्माण पूरा गर्न सकिने जनाएको छ ।

भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर,नौतनवासम्मका शहरहरु देख्न सकिनेछ । भ्यू टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान गरिनेछन् । भ्यू टावर शिलान्यास गर्दै नेपाली कांग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले तिलोत्तमा नगरपालिकालाई पर्यटकीय स्थल बनाउन भ्यू टावर निर्माणले महत्वपूर्ण टेवा पु¥याउने बताए ।

नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा भ्यू टावर’ नगरपालिकाको गौरव र गहना हुने उल्लेख गर्दै भ्यू टावर भविष्यमा नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । भ्यू टावर बनेपछि यहाँ आउने पर्यटकको संख्या चार गुणाले बढ्ने अपेक्षा गरिएको नगर प्रमुख घिमिरेले बताए ।

आन्तरिक स्रोतले मात्र भ्यू टावर निर्माण गर्न कठिन हुने जनाउँदै उनले यसमा सघाउन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे ।  ‘भ्यु टावर तिलोत्तमाको मात्र नभई प्रदेश नं. ५ कै गहना हुने भएकाले निर्माणको लगानी नगरपालिका एक्लैले मात्र गर्न नसक्ने भएकाले यसमा सघाउन हामीहरु प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्दछौं ।’ नगर प्रमुख घिमिरेले भने ।

उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले भ्यू टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन । यस्तै शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न, बाल रेल सञ्चालन र बोटानिकल गार्डेनका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरे ।

केन्द्रका सचिव खिमलाल पाण्डेले सञ्चालन गरेको शिलन्यास कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशसाकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नंं २ का अध्यक्ष दधिराम गौतम, नेकपा माओवादी केन्द्रका बेलप्रसाद शर्मालगायतले भ्यू टावरको बहुआयामिक फाईदाका बारेमा चर्चा गरेका थिए ।