टिकटकमा लाग्यो प्रतिबन्ध - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

टिकटकमा लाग्यो प्रतिबन्ध



नयाँ दिल्ली | मद्रास सरकारले टिकटक मोबाइल एप प्रतिबन्ध गरेको छ। पछिल्लो समय प्रयोगकर्तामाझ अत्यन्त लोकप्रिय हुँदै आएको टिकटकमा अश्लील भिडियोहरू बढ्न थालेको भन्दै मद्रास उच्च अदालतले टिकटक बन्द गरेको हो। त्यस्तै यो एपमा हालिएका कुनै पनि भिडियो सामाजिक सञ्जालहरूमा सेयर नगर्न पनि उसले आदेश दिएको छ।

टिकटक भिडियोका कारण समाजमा अश्लीलता फैलिएको भन्दै यसलाई रोक्न मद्रास अदालतले यो कदम चालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मद्रास उच्च अदालतले बुधबार केन्द्र सरकारलाई टिकटक ‍डाउनलोड गर्न नदिन र बन्द गर्न माग पनि गरेको छ। साथै अदालतले केन्द्रीय सरकारलाई प्रश्न पनि गरेको छ।

‘के हाम्रो सरकारले अमेरिकी सरकारले झैं केटाकेटीहरूलाई साइबर अपराधको शिकार हुन नदिने कानुन ल्याउन सक्छ? उनीहरूमाथि हुनसक्ने साइबर अपराध रोक्न सरकारले तुरून्त कदम चाल्न सक्छ? हामीलाई केन्द्रीय सरकारको जवाफ चाहिएको छ,’ मद्रास अदालतले भनेको छ।

यसअघि तमिलनाडुका सूचना तथा सञ्चारमन्त्री एम. मणिकंदनले पनि टिकटक प्रतिबन्ध गर्नुपर्ने माग राखेका थिए। मणिकंदनका अनुसार यो भिडियो एपमार्फत् तमिल संस्कृतिलाई तुच्छ देखाउने काम भइरहेको छ। यो एपले केटाकेटी र युवाहरूलाई बहकाएको पनि उनको भनाइ थियो।

टिकटकले कुनै किसिमका अश्लील भिडियो रोक्ने नीति बनाएको छैन। भिडियो गुणस्तर नियमन नहुँदा यसले भिडियो संस्कृति र त्यसमा जोडिएका ठूलो जनसंख्या नै प्रभावित भइरहेको छ। पछिल्लो समय एकदमै लोकप्रिय भएको यो एपमा भिडियो हाल्नकै लागि भनेर आफ्नो ज्यान जोखिममा पनि पारेका छन्।

टिकटक चिनियाँ कम्पनी हो जसमा भिडियो पोस्टहरू हुन्छन्। गत वर्ष यसले ‘म्यूजिकल्ली’ नामको यस्तै भिडियो एप किनेको थियो। यी दुवै एप एक भएपछि यसका प्रयोगकर्ता ह्वात्तै बढेका छन्। केटाकेटीदेखि पाका उमेरकाहरू पनि आजभोलि टिकटक भिडियोमा देखिन थालेका छन्।

यसमा हालिने भिडियोमा कुनै मापदण्ड छैन। यसकारण यसले समाजमा नकारात्मकता फैलिएको भन्दै मद्रास सरकारले यो प्रतिबन्ध गरेको हो। एजेन्सी