टीकापुर महोत्सवको तयारी तिब्र, मन्त्री रघुविर महासेठद्बारा उद्घाटन हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टीकापुर महोत्सवको तयारी तिब्र, मन्त्री रघुविर महासेठद्बारा उद्घाटन हुने



लोकेन्द्र रावल 
टीकापुर, कैलाली । टीकापुर उद्योग वाणिज्य संघले टीकापुर महोत्सव २०७५ को तयारी तिब्र पारेको कार्यबाहक अध्यक्ष सुरेन्द्र किशोर गिरीले बताउनुभएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनको अध्यक्षता ग्रहण गर्नुभएका कार्यवाहक अध्यक्ष गिरीले लम्की–टीकापुर–खक्रौला सडक चारलेन एक मात्र माग रहेको जानकारी दिनुभयो । यो वर्ष संघले महोत्सवको प्रमुख अतिथिका रुपमा भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठलाई आमन्त्रण गर्ने निर्णय गरेको बताउनुभयो ।

विगतमा झैं महोत्सव अवलोकनका लागि जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निशुल्क गरिएको छ । ती व्यक्तिहरुले परिचय खुल्ने कागजातका आधारमा महोत्सवको निशुल्क अवलोकन गर्न पाउने व्यवस्था मिलाईएको छ । विद्यार्थीका लागि रु ४० र अन्यका लागि रु ५० टिकट लाग्ने छ ।

महोत्सवमा यो वर्ष पनि थारु र मगर गाउँ रहनेछन । यसका साथै मावि स्तरीय नृत्य प्रतियोगिता सञ्चालन गरिने बताईएको छ । प्रतियोगितामा प्रथमलाई १० हजार, दोस्रोलाई ८ हजार, तेस्रोलाई ६ हजार र सान्त्वनालाई ३ हजारका साथै प्रमाण पत्र प्रदान गरिनेछ । साथै प्रत्येक झाँकी प्रदर्शनलाई रु. २ हजार रुपैयाँ समेत प्रदान गरिने कार्यबाहक अध्यक्ष तथा आर्थिक उपसमितिका संयोजक गिरि बताउनुभयो । महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिईने पनि बताउनुभएको छ । अनावश्यक खर्च कटौती गरि आर्थिक पारदर्शीता अपाइने जानकारी समेत सम्मेलनमा दिईएको छ ।

महोत्सवमा १ सय ५५ स्टल रहने छन । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १० वटा स्टल निशुल्क प्रदान गरिनेछ । जसका लागि उद्योग घरेलु तथा साना उद्योगमा दर्ता भएको हुनुपर्ने गिरीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

त्यस्तै संघले १७ वटा उपसमिति गठन भएको पनि जानकारी दिएको छ । संघले महोत्सव सञ्चालनका लागि अध्यक्ष परशुराम चपाँईको संयोजकत्वमा मूल समारोह समिति र संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमालको संयोजकत्वमा अनुगमन समिति गठन गरिसकेको जनाएको छ । मूल समारोह समितिमा संघका पदाधिकारी र अनुगमन समितिमा संघका पूर्वअध्यक्षहरु रहनुभएको छ ।

उपसमितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र शाह मञ्च व्यवस्थापन, उपाध्यक्ष सुरेन्द्र किशोर गिरी आर्थिक तथा अतिथि सत्कार, महासचिव रामबहादुर भण्डारी उद्घाटन समापन तथा सचिवालय व्यवस्थापन, सचिव नैनसिँह केसी सूचना केन्द्र व्यवस्थापन र कोषाध्यक्ष टेकराज बिष्ट छपाई तथा टिकट व्यवस्थापन रहनुभएको छ ।

त्यस्तै सदस्य प्रकाशबहादुर बिष्ट ब्यानर, कृष्ण घिमिरे प्राथमिक उपचार, मनिष बलायर साँस्कृतिक, केशरसिँह ठकुरी रमाईलो मेला तथा पार्किङ, लोकेन्द्र मल्ल सुरक्षा, टोप प्रकाश विक सूचना तथा प्रविधि, गणेशराज रेग्मी स्टल, नारायण न्यौपाने खानेपानी तथा विद्युत, भागिरथी बम देउवा कृषि तथा महिला उद्यमी, मीनबहादुर ठनाल परिसर तथा नगर श्रृङ्गार, भुपेन्द्र पुनमगर यातायात तथा प्रचार प्रसार र जगतराज चौधरी आवाश तथा भोजन उपसमितिको संयोजक रहनुभएको छ ।

यो वर्ष माघ १८ देखी २८ गतेसम्म टीकापुर महोत्सव सञ्चालन हुनेछ ।