नेपालमा थपिएनन् नयाँ कोरोना संक्रमित: के हुन्छ अबको प्रक्रिया ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

नेपालमा थपिएनन् नयाँ कोरोना संक्रमित: के हुन्छ अबको प्रक्रिया ?



काठमाडौं- पछिल्ला ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिएका छैनन् । पछिल्ला दिनमा कोरोना परीक्षणको दायरा बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रूपमा लिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

‘पछिल्ला दिनमा परीक्षण गर्नेको संख्या बढ्दा पनि संक्रमितको संख्या नदेखिनुले सकारात्मक आशा जगाएको छ,’ मन्त्रालयका प्रवक्ता देवकोटाले भने ।

उनका अनुसार पछिल्ला ६ दिनयता नयाँ संक्रमित थपिएका छैनन् । हालसम्म नौ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । उपचारमा रहेका आठ जना पनि निको हुने क्रममा रहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।

पछिल्लोपटक गत २२ चैतमा कैलाली र कञ्चनपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, देशभर १ सय २५ जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

जसमध्ये १ सय १० जना उपत्यकाबाहिर र १५ जना उपत्यकाका अस्पतालमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा बसेका छन् । हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

राजधानीका अनुसार विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा शुक्रबारदेखि पीसीआरबाट नमुना परीक्षण सुरु भएको छ । योसँगै देशभरका ११ स्थानबाट कोरोना परीक्षण हुँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना प्रभावित जिल्ला कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७ जनाको, बागलुङमा १९ र कपिलवस्तुमा २१ जनाको कोभिड–१९ परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।

हाल ८ सय बढीको परीक्षण प्रक्रिया जारी रहेको उनले बताए । डडेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णाली प्रदेशबाट ८५ गरी बिहीबार संकलन भएका ७ सय ९ वटा नमुनाको हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण जारी रहेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय र भरपर्दो भएको स्पष्ट पारेको छ ।