स्पष्टीकरण सोध्यो, हाँसो लाग्ने जवाफ दिएर हैरान परियो- आयुक्त थपलिया - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

स्पष्टीकरण सोध्यो, हाँसो लाग्ने जवाफ दिएर हैरान परियो- आयुक्त थपलिया



काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको जनाएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले अहिले जवाफ केलाउने काम गरिरहेको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कारबाहीको प्रक्रियामै रहेको बताए।

‘अहिले स्पष्टीकरण सोधिएका सबै विषय कात्तिक २५ यता टुंगिन्छन्’, थपलियाले भने, ‘जवाफ चित्तबुझ्दो भयो र दोहोर्‍याएर उल्लंघन नहुने प्रतिवद्धता आयो भने मान्न सकिन्छ नभए दण्ड जरिवाना हुन्छ।’

उनले स्पष्टीकरण सोधिएकाहरुको जवाफ हास्यास्पद आइरहेको पनि बताए।

‘कतिसम्म भने उनीहरूलाई फसाउनका लागि आयोगले नै भिडियो बनाएर सामाजिक सञ्जालमा हालिदिएजस्तो जवाफ पनि पठाइरहेका छन्’, थपलियाले भने, अनलाइन पत्रपत्रिकामा आएका विषय प्रिन्टसहित पठाउँदा पनि मैले बोल्दै नबोलेको कुरा छापियो भनेर जवाफ पठाइरहेका छन्, हामी अध्ययन गरिरहेका छौँ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चेबाजासहित उम्मेदवारी दर्ता गराएको भिडियो आफैंले पोष्ट गरे पनि आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदा आफूलाई थाहा नभएको बताएका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैदेशिक रोजगारीका लागि फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँडेको भिडियो सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको थियो। उनले पनि आफूले त्यस्तो भन्दै नभएको जवाफ पठाएका थिए।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्धता जनाएर आफूहरूका संयन्त्रलाई निश्कृय पार्न पनि दलहरुलाई चुनौती दिए।