राजेन्द्र लिङदेनमाथि कमल थापाका पहिलो काउन्टर - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

राजेन्द्र लिङदेनमाथि कमल थापाका पहिलो काउन्टर



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले अवैधानिक रहेको घोषणा गरेका छन् ।

थापाले राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई कारबाही गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित रहेको घोषणा गरेका हुन् ।

थापाले पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हितमासमेत नरहेको भन्दै सामाजिक संजालबाटै असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्– “राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ । सो निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन।”

राप्रपा महामन्त्री भुवन पाठकका अनुसार १४ पुसमा बसेको राप्रपाको काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिको विशेष बैठकले गरेको सिफारिशअनुसार, चारै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको थियो ।