थापाले भने - भारतमा मोदी, नेपालमा कमल थापा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

थापाले भने – भारतमा मोदी, नेपालमा कमल थापा



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने दाबी गरेका छन्।

भारतमा हिन्दुत्वको एजेन्डा बोकेको भारतीय जनता पार्टीले नरेन्द्र मोदीको नेतृत्वमा छोटो समयमै दोस्रोपटक प्रचण्ड बहुमत पुर्‍याएर सरकार बनाएको उदाहरण दिँदै थापाले राप्रपालाई पनि नेपालको अग्रणी शक्ति बनाउन सकिने बताए।

‘हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्नबाट कसैले रोक्न सक्दैन’, उनले भने, ‘बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न नअल्मलिइकन गोलवद्ध होउँ।’

सिन्धुपाल्चोक जिल्लाबाट राप्रपा प्रवेश गर्नेहरूलाई शनिबार स्वागत गर्दै अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरूकै अकर्मण्यताले ४० लाख नेपाली युवाले सामान्य रोजगारीको लागि खाडी मुलुकमा पसिना बगाउनुपर्ने स्थिति आएको बताए।

पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले युवाहरूलाई देशमै उचित व्यवस्थापन गर्ने दूरगामी सोचका साथ राप्रपा क्रियाशील रहेको बताए। थापाले संगठन विस्तारमा लाग्न कार्यकर्ता र नवप्रवेशीहरूलाई निर्देशन दिए।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले देशव्यापी रुपमा सुरु गरेको संगठन सुदृढिकरण अभियानलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गरे।

कार्यक्रममा होमप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज समेत गठन भएको छ।