सिन्डिकेट तोड्दै मयुरका २३ ठूला बस थानकोट रुटमा ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिन्डिकेट तोड्दै मयुरका २३ ठूला बस थानकोट रुटमा !



काठमाडौं । मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा ठुला बस थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा चलाउन तयारी गरेको छ । यसअघि अरनिको राजमार्गमा सिन्डिकेट तोडेर मयुरले चर्चा कमाएको थियो ।

अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ । त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए । अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो ।

 

अहिले थानकोट पुग्न अधिकांश यात्रुलाई उभिएर, कोचिएरर झण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक-दुई दिनमै सबै आइपुग्ने बताएका छन्।

‘अब थानकोटसम्म पनि मयुरले सेवा दिन्छ । त्यहाँ यात्रुलाई निकै असुविधा रहेको हामीले पाएका छौं,’ उनले भने,’अबको १० दिनभित्र सेवा सुरु हुन्छ ।’

मयुरका ठूला बसले सेवा थालेपछि थानकोट, सतुंगल, नैकाप लगायतका क्षेत्रका यात्रुलाई सहज हुनेछ ।

मयुरका नयाँ २३ बस थानकोटबाट रत्नपार्क आएर धुलिखेल र पनौती पुग्नेछन् । त्यहाँबाट फर्किएका बस सोही रुट भएर पुन थानकोट नै जानेछन् ।

मयुर यातायातले निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ । ठूला बसमा विभिन्न सुविधा पनि छन् ।

निःशुलक वाइफाइ सहितका यि बसमा फराकिला सिट छन् । मयुरले ४२ सिट क्षमताका ठूला बसहरु थानकोटमा चलाउन लागेको हो ।

अहिले चक्रपथ घुमेर धुलिखेलसम्म मयुरका २४ वटा बस चलिरहेका छन् ।