ठेकदारको हत्या गर्ने एक युवक पक्राउ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

ठेकदारको हत्या गर्ने एक युवक पक्राउ



 तनहुँ– तनहुँमा शुक्रबार ठेकदारको हत्या गर्ने युवक ईट्टाभट्टामा लुकिरहेको अवस्थामा पक्राउ परेका छन्। ठेकदार राजकुमार श्रेष्ठको हत्या गर्ने दुस्मी राई भनिने दिेनेश सोरेनलाई प्रहरीले भानु नगरपालिकाको देउरालीटारस्थित ईट्टा भट्टामा लुकेर बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो।

पक्राउ परेपछि उनले ठेकदार श्रेष्ठले पैसाको विषयमा सधैं किचकिच गरेकाले हत्या गरेको बताएका छन्।  श्रेष्ठ बन्दिपुरको तनहुँ– गोर्खा जोड्ने पुलका पेटी ठेकदार हुन्। दिनेश सोही पुल निर्माणमा खटिएका थिए। आफुलाई सधैं गाली गर्ने र पैसामा पनि किचकिच गरेर रिस उठेपछि रडले हानेको उनले बताएका छन्।

श्रेष्ठसहित तीन जनालाई उनले रडले हानेका थिए। घटना योजनाबद्ध भएको प्रहरीले जनाएको छ। विगतदेखि नै श्रेष्ठ र सोरेनबीच विवाद हुँदै आएको थियो। कामको पुरै पैसा नदिएपछि पहिला पनि उनीहरुबीच झगडा भएको थियो। त्यसकारण शुक्रबार निउ खोज्ने र झगडा गर्ने योजना बनाएरै शुक्रबार मदिरा पिएका थिए । कुरा गर्ने भन्दै बोलाएर निउ खोजेर श्रेष्ठलाई रडले टाउकोमा हानेर उनी भागेका थिए। उपचारको क्रममा श्रेष्ठको शनिबार पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको थियो।

 उनको आक्रमणबाट घाइते भएका दुई जना कामदारको उपचार भइरेहको छ। श्रेष्ठले नै सोरेनलाई उक्त काममा लगाएका थिए। तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा सोरेनमाथि कारबाही अघि बढाएको छ ।