ठगी आरोपमा भारतीय नागरिकसहित दुई पक्राउ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

ठगी आरोपमा भारतीय नागरिकसहित दुई पक्राउ



नयाँ पत्रिका : काठमाडौं । बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्म्सबाट आएको भन्दै ठगी गर्ने भारतीय नागरिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ सिलगुडीस्थित जलपाइगुडीका २४ वर्षीय विजयठाकुर भारती र कैलाली लम्की घर भई भारतको महाराष्ट्र पुनामा बस्दै आएकी २५ वर्षीया करिस्मा बोहरा त्रिवेदीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो ।

उनीहरूलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको र्‍याडिसन होटेलबाट पक्राउ गरेको हो । उनीहरू हिन्दी भाषाको ‘बोर्डर टाइज’ नामक चलचित्र बनाउने भन्दै एक महिनाअघि नेपाल आएका थिए । उनीहरूसँगै आएका युवराज त्रिदेवी भने फरार छन् ।

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले यशराज फिल्म्स निर्माण कम्पनीबाट आएको भनेर ठगी गर्ने भारतीय नागरिकसहित दुईजना पक्राउ परेको बताए । उनले भने, ‘यशराज फिल्म्सबाट आएको हुँ भन्दै नेपाली कलाकार ठग्न खोज्ने दुई भारतीय पक्राउ परेका छन् । उनीहरू एक महिनाअघि नेपाल आएका थिए । र्‍याडिसन होटेलमा उनीहरूले नेपाली कलाकारको अडिसनसमेत लिएका थिए ।’

प्रहरीका अनुसार उनीहरूले नेपालमा फिल्म सुटिङका लागि आवश्यक सबै व्यवस्थापनको जिम्मा काठमाडौं फिल्म प्रालिलाई दिएका थिए । त्यसबापत आवश्यक कलाकार खोज्ने जिम्मा प्रालिलाई नै दिएको जनाइएको थियो । फिल्म प्रदर्शनपछि नेपाल राइटको जिम्मा पनि प्रालिलाई नै दिने सम्झौता भएको थियो । त्यसबापत प्रालिले उनीहरूलाई डेढ करोड रुपैयाँ दिने भनिएको थियो ।

सम्झौताअनुसार प्रालिले फिल्मका लागि आवश्यक नेपाली कलाकार र्‍याडिसन होटेलमै उपलब्ध गराएको थियो । त्यसमध्ये उनीहरूले ५० जना कलाकारको पहिलो राउन्डमा स्क्रिन टेस्ट र अडिसन लिएका थिए । सो राउन्डमा १४ जना कलाकार छानिएका थिए । उनीहरूलाई क्वर्टरफाइनल भन्दै अर्को राउन्ड अडिसन लिइएको थियो । त्यसक्रममा उनीहरूले कलाकारसँग प्रतिव्यक्ति २ लाख ५० हजार भारतीय रुपैयाँ मागेका थिए । रकम दिनेलाई उनीहरूले फाइनल राउन्डका लागि छनोट गरेका थिए ।

प्रहरीका अनुसार कलाकारसँग रकम उठाएपछि उनीहरूले काठमाडौं फिल्म प्रालिसँग पनि रकम मागेका थिए । उनीहरूको गतिविधि शंकास्पद देखिन थालेपछि प्रालिले यशराज फिल्म्सलाई ‘फिल्म सुटिङका लागि नेपालमा प्रतिनिधि पठाएको हो–होइन’ बुझ्न मेल गरेका थिए । प्रत्युत्तरमा यशराज फिल्म्सले आफ्नो कुनै पनि प्रतिनिधि नेपाल नआएको स्पष्ट पारेपछि उनीहरूको ठगी धन्दा खुलेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाका अनुसार उनीहरूले कलाकारसँग स्क्रिन टेस्ट र अडिसनका नाममा १० लाख २५ हजार ठगेको खुलेको छ । उनले भने, ‘यिनीहरू फिल्म बनाउने भन्दै आएका रहेछन् । नेपाली कलाकार चाहियो भने, अडिसन लिए । त्यसबापत प्रत्येकसँग रकम असुले । कलाकारबाट मात्रै उनीहरूले १० लाखभन्दा धेरै रकम लिएको खुलेको छ । काठमाडौं फिल्म प्रालिसँग डेढ करोड रुपैयाँको सम्झौता भएको देखिए पनि रकम भने लिन पाएका थिएनन् । सोही क्रममा उनीहरू पक्राउ परेका हुन् ।’

ब्ल्याकमेल गर्ने सेनाका जवान पक्राउ
सामाजिक सञ्जालमार्फत युवतीलाई प्रेमको नाटक गरी ब्ल्याकमेलिङ गर्ने नेपाली सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे पनौतीका ३१ वर्षीय राजकुमार सापकोटा पक्राउ परेका हुन् । प्रहरीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

पीडितको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरी सैनिक प्रहरीको जिम्मा लगाएको छ । प्रहरीका अनुसार उनले प्रेमको नाटक गरी १० भन्दा धेरै युवातीलाई ब्ल्याकमेल गरेको खुलेको छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सापकोटालाई साइबर क्राइम र ठगी मुद्दाअन्तर्गत पक्राउ गरिएको बताए । उनले भने, ‘साइबर क्राइम र ठगी अभियोगमा राजकुमार सापकोटा पक्राउ परेका छन् । उनलाई सैनिक हिरासतमा राखिएको छ । दोषी ठहर भएमा कारबाही हुन्छ ।’

अनुसन्धानमा खटिएका सैनिक अधिकृतका अनुसार उनले फेसबुकमार्फत नयाँ–नयाँ युवती सर्च गर्थे । आकर्षक देखिएकालाई रिक्वेस्ट पठाउँथे । जब युवतीले रिक्वेस्ट एसेप्ट गर्थे, अनि उनी अनेक गफ दिन्थे । गफकै भरमा उनले युवतीलाई डेटमा बोलाउँथे । सोही क्रममा उनले मोबाइलबाट सेल्फी खिचेर ब्ल्याकमेलिङ गर्थे ।

यस क्रममा उनी धेरैजसो युवातीलाई शारीरिक सम्पर्कको प्रस्ताव पनि गर्थे । प्रस्ताव अस्वीकार गर्ने युवतीलाई फोटो सार्वजनिक गरिदिने धम्की दिन्थे । सैनिक स्रोतका अनुसार उनले यसैगरी १० भन्दा धेरै युवतीसँग शरीरिक सम्पर्क राखेका छन् । केहीको सुनको सिक्री लुटेका छन् । केहीसँग नगद असुलेका छन् ।