पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, पाँच जिल्लामा पत्तासाफ, लुक्न थाले शिर्ष नेता - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, पाँच जिल्लामा पत्तासाफ, लुक्न थाले शिर्ष नेता



एमाले अध्यक्ष केपी शर्मा ओली र शिर्ष नेताहरूले स्थानीय तहमा ७० प्रतिशत जित्ने दाबी मात्र होइन घोषणा नै गरिदिए तर नतिजामा भने एमाले निकै खुम्चिनु परेको छ । हालसम्मको चुनावी नतिजाले सबैभन्दा बढी क्षती बेहोर्ने दल एमाले नै बनेको छ ।

विभिन्न स्थानमा विभिन्न दलसँग गठबन्धन गरेको एमालेले अपेक्षित सिट जित्न नसक्दा शिर्ष नेताहरू आलोचित हुने अवस्था बनेको छ । चुनावी परिणामले दिएको झट्काका कारण एमालेका अध्यक्ष ओली लगायत केही नेताहरू सार्वजनिक रूपमा बोल्न समेत सकेका छैनन् ।

चुनाव अगाडी सभाहरूमा ओलीले गरेका भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । क्षती ठूलो भएपछि एमालेले वक्तव्य नै निकालेर गठबन्धनले धाँधली गरेको आरोप समेत लगाएको छ ।

देशभर विभाजनको असर खेपिरहेको एमालेले कर्णालीमा सबैभन्दा बढी क्षति बेहोरेको छ। कर्णालीमा २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले तेस्रो नम्बरमा खुम्चिएको छ।

७९ मध्ये ७६ पालिकाको मत परिणाम आइसक्दा सबैभन्दा लाभ कांग्रेसलाई भएको छ। कांग्रेसले ३२ वटामा जित हासिल गरेको छ। माओवादीले २१ वटामा र एमालेले १५ मा जितेको छ भने चार पालिका स्वतन्त्रले जितेका छन्।

नतिजा आउन बाँकी तीनमध्ये दुईमा माओवादी केन्द्र अघि छ भने एकमा स्वतन्त्रको अग्रता छ। कालिकोटको रास्कोट, पचलाझरनामा माओवादीको अग्रता छ। हुम्ला चंखेलीमा स्वतन्त्रले अग्रता लिइरहेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा कर्णालीमा एमालेले २७ पालिका जितेको थियो। अहिले १२ गुमाएको हो। कांग्रेस र माओवादी केन्द्रले भने समान २५ पालिका जितेका थिए।

गठबन्धन गर्दा पनि माओवादी केन्द्रले दुई पालिका गुमाउनुपर्ने देखिन्छ। अग्रता लिएका पालिकामा जित हासिल गर्दा समेत जम्मा २३ मा माओवादी केन्द्रका प्रमुख हुनेछन्।

एमाले कर्णालीका पाँच जिल्लामा शून्य भएको छ। हुम्ला, जुम्ला, कालीकोट, रुकुम–पश्चिम र मुगुमा एमालेले एउटा पालिकामा पनि जित निकाल्न नसकेको हो।