देवी समान शिक्षिकाले ५ छात्राको हात भाँचेपछि - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

देवी समान शिक्षिकाले ५ छात्राको हात भाँचेपछि



विद्यार्थीलाई शारीरिक दण्ड दिन पाइँदैन। चाहे त्यो विद्यालयमा होस् वा घरमा। नेपालको संविधानले पनि बाल अधिकार सुनिश्चित गरेको छ। कुटपिटको सन्दर्भमा रोल्पामा एक शिक्षिकाले पाँच छात्राहरूको हातै भाँचिदिएकी छिन्।

रुम्टीगढी गाउँपालिका-८, रोल्पाको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले १४ विद्यार्थीलाई शारीरिक दण्ड दिएकी छिन्।  चौधजनामध्ये पाँच जनाको हातै भाँचिएको छ। प्रधानाध्यापक झगबहादुर भण्डारीले गत जेठ १२ गते होलेरी जाँदा पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएका थिए। प्रअहरूको दुई दिने तालिमका दिन पुनले ढिला आएको भन्दै विद्यार्थीलाई शारीरिक दण्ड दिँदै कुटपिट गरेकी थिइन्।

विमला रोका, भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र शान्ता नेपालीको हात उनको कुटाइले भाँचिएको छ। हात भाँचिएपछि उनीहरू उपचारका लागि दाङ आएका थिए।

तुलसीपुरस्थित साहारा पोलिक्लिनिकमा आइतबार उनीहरूको प्लाष्टर गरिएको सञ्चालक विष्णु शर्माले बताए।डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाहरूको जोर्नी, नाडी, कुइनो र काँधमा  चोटपटक लागेको छ।  हात तथा अनुहार समेत सुन्निएका छन्।

डा.शर्माले सबैलाई १५ दिनपछि फलोअपका लागि बोलाइएको बताए।

जिप्रका रोल्पाका प्रमुख एवम् डिएसपी दीपक खड्काले शिक्षिका पुनले उक्त दिन कुटपिट गरेका १४ जना बालबालिकामध्ये पाँच जना छात्राको हात भाँचिएको बताए। थाहा भएपछि शिक्षिकालाई पक्राउ गर्न प्रहरी टोली पठाइएको छ।

‘मैले पनि खबर सार्वजनिक भएपछि मात्रै थाहा पाएँ र तुरुन्तै इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरीक्षक मेघनाथ चौलागाईँलाई कुटपिट गर्ने शिक्षिकालाई पक्राउ गर्न आदेश दिएर पठाएको छु,’ डिएसपी खड्काले भने।

कक्षा ८ मा अध्ययनरत १४ वर्षीया गौरी घर्तीले कपाल राम्रोसँग किन नबाटेको, किन लिपिस्टिक लगाएको, गालामा कोठी किन बनाएको ?  भन्दै सालको चिरपटले शिक्षिकाले कुटेको जानकारी दिइन्।

विद्यार्थीमाथि कुटपिट भएपछि वडा नं. ८ का वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधि उपचार गर्ने सहमति गरिएको थियो। अभिभावक जीतबहादुर रोकाले स्थानीयस्तरमै घटनालाई मिलाएर ढाकछोप गर्न खोजिएको आरोप लगाए।

वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा घटना सार्वजनिक हुन नदिन र स्थानीयस्तरमा मिलाउन धेरै प्रयास गरिए पनि सम्भव नभएपछि घटना सार्वजनिक हुन पुगेको हो।

‘सामान्य घटना हो, तपाईंहरू मिल्नु पर्छ भन्ने निरन्तर दबाब थियो। हामीले पनि त्यसमा अन्यथा मानेका थिएनौँ। तर हात सञ्चो नभएपछि हामी बाध्य भयौँ र मिडियाले हामीलाई थाहा पाएर पछ्याउँदै आएको हो,’ रोकाले भने।

पुनले कक्षा १ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थीलाई कुटेकी हुन्। कक्षा १ का प्रेम पुन, सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला बिक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती लगायतमाथि शिक्षिका पुनले कुटपिट गरेकी थिइन्।

शिक्षिका लक्ष्मी पुनले भने आफूबाट गल्ती गरेको अस्वीकार गरेकी छन्।

‘मैले रिसराग र बदलाको भावनाले बालबालिकालाई कुटेकी हैन,’ शिक्षिका लक्ष्मीले भनिन्,‘उनीहरूलाई अनुशासन सिकाउन खोजेको मात्रै हो, तर त्यो अलिकति बढी भएको मात्रै हो।’

गाउँघरकै भाइबहिनीहरू नबिग्रिउन्, गलत बाटोमा नलागून् भनेर आफूले सबैलाई विद्यालयको प्राङ्गणमा एक/ एक लठ्ठी मात्रै हिर्काएको दाबी उनले गरिन्।

‘मैले माफी मागिसकेकी छु। कुरा मिलिसकेको छ ।’ पुनको भनाइ थियो।