तस्करी मौलाउदै , बन कार्यालयले घटना सामान्य रुपमा मिलाउदै - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

तस्करी मौलाउदै , बन कार्यालयले घटना सामान्य रुपमा मिलाउदै



गोबिन्द बीसी 

बौनिया,कैलाली । केही दिनयता अबैध रूपमा काठ तस्करीका घटना बढ्न थालेका छन । एकपछि अर्को गरि महिना दिन नबित्दै तस्करीका घटना  बढ्न थालेका हुन । बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डामा बेवारिसे अवस्थामा सालको गोलिया भेटिएको छ ।

स्थानीयले खबर गरेपछि गस्तीमा गएको ईलाका बन कार्यालय रामपुर बौनियाको टोलीले स्थानीय लाल बहादुर साउदको घर अगाडि खुल्ला रूपमा राखिएको अवस्थामा सो सालको गोलिया बरामद गरेको जनाएको छ ।

ईलाका बन कार्यालयका रामपुरका फरेस्टर पुरन बुढाले दिएको जानकारी अनुसार विशेष सुराकीको आधारमा बन कार्यालयमा प्रमुखलाई जानकारी आएपछि गस्तीमा गएको बताए । ” हाम्रो हाकिम साबलाई स्थानीयले गोलिया राखिएको छ भनेर खबर गरेपछि गस्ती गरिएको हो ।” बुढाले भने ।

बरामद गरिएको सालको गोलिया लालीगुरास सामुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष एवं वडा सदस्य टंक ओलीको जिम्मा लगाएको ईलाका बन कार्यालयका जमदार प्रकाश जोशीले बताएका छन । ” तत्काल कार्यालयमा ल्याउन साधनको ब्यवस्था नभएपछि बरामद गरिएको गोलिया मुचुल्का उठाएर जिम्मा लगाएका हौं ।”- जोशीले भने । त्यसलाई कार्यालयमा भोली नै ल्याउछौ । काठ तस्करी कस्ले किन गरेको भन्ने बारे अनुसन्धान पछि कार्वाही गरिने समेत जमदार जोशीले बताएका छन । तर, काठ तस्करी तिब्र रूपमा हुँदै जादा समेत बन कार्यालयले बेवारिसे अवस्थाको भन्दै सामान्य पार्दै गएको स्थानीय आरोप लगाएका छन । सामुदायिक बन र बन कार्यालयको उदासिनताका कारण तस्करीमा बृद्धी भएको स्थानीयको भनाइ छ ।

यसअघि पनि अवैध काठसहितको ट्याक्टर र मोटरसाइकल समेत बन कार्यालयले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको हप्तौ बितिसक्दा पनि उक्त तस्करीमा कस्को संलग्नता थियो भन्ने बारे बन कार्यालयले केहि सार्वजनिक गर्न सकेको छैन ।