तरुण दलका अध्यक्षको कदम गलत: शेखर कोइराला - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

तरुण दलका अध्यक्षको कदम गलत: शेखर कोइराला



काठमाडौं– नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले तरुण दलमा भएको विवाद स्वाभाविक भन्दै अध्यक्ष जितजंग बस्नेतको कदमलाई गलत भएको बताएका छन् ।

बस्नेतले आफ्नो अधिकार क्षेत्र पार गरेको पनि कोइरालाले बताए। नेपाल तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको उनलको भनाई थियो।

तरुण दलको ६६ औँ स्थापना दिवसका अवसरमा सामाखुसीमा आयोजित कार्यक्रममा नेता कोइरालले तरुण दलमा विवाद स्वभाविक भएको भन्दै अध्यक्षलाई महसचिव हटाउने अधिकार नभएको बताएका हुन् । उनले भने, ‘तरुण दलभित्रको विवादलाई स्वभाविक रुपमा लिएको छु । किनेभने पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन । तर तरुण दलको अध्यक्षलाई महासचिव हटाउने अधिकार छैन ।’ तरुण दलको स्थापना दिवस एउटै ठाउँमा बनाउने वातावरण मिलाउन आफूहरुले पार्टी सभापति र वरिष्ठ नेतासँग पनि गरेको उनको भनाइ थियो ।

‘उहाँहरुलाई एउटै कार्यक्रम गर्ने वातावरण बनाए पार्टी कार्यालयमा कार्यक्रम राख्नु भनेका थियौँ । म एक जनालाई दोष दिने पक्षमा छैन । उहाँहरु दुबै जना आ–आफ्नो गुटमा रमाइ राख्नुभएको छ,’ उनले भने । तरुण दलका ४ जना पदाधिकारीलाई राखेर एउटै कार्यक्रम राख्नु भनेर भनेको भए समस्या समाधान नै नहुने कोइरालाको भनाइ थियो । यस विषयमा पार्टीका सबै पदाधिकारी दोषी रहेको उनको दाबी थियो ।

यस्तै सभापति शेरबहादुर देउवाले नेविसंघमा ५० वर्षमाथिको नेतृत्व ल्याउन खोजेको भन्दै उनले भने, ‘५० वर्षको उमेरमा सभापति शेरबहादुर देउवाजी प्रधानमन्त्री भइसक्नुभएको थियो । तर अहिले उहाँले ५० वर्ष माथिको व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याउन खोज्नुभएको छ । रामचन्द्रजी पनि ५० वर्षमाथिको मान्छेलाई नेविसंघमा ल्याउन खोज्दै हुनुहन्छ ।’

पार्टी सभापति र वरिष्ठ नेताले देश कता जाँदैछ भन्ने कुरासमेत बुझ्न नसेकेको कोइरालाको आरोप थियो ।

केही दिनअघि अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पद र साधारण सदस्यताबाट हटाएका थिए भने त्यसको प्रतिवादमा शाहीले अध्यक्ष बस्नेतलाई पनि पदीय हैसियत तथा साधारण सदस्यबाट हटाएका थिए ।