बिजुलीको तारमै बसेका पुरुषका कारण प्राधिकरणलाई ६० लाख घाटा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

बिजुलीको तारमै बसेका पुरुषका कारण प्राधिकरणलाई ६० लाख घाटा



नुवाकोटको ककनी स्थित विद्युतको हाइटेन्सन लाइनमा एक व्यक्ति चढेर झर्नै नमानेपछि जलविद्युत आयोजना नै बन्द गर्नु परेको छ । एक व्यक्तिको सनकको कारण विद्युत प्राधिकरणलाई ठूलो क्षती भएको छ । ६ घण्टादेखि बिजुलीको तारमै बसेका ति पुरुष झर्नै मानेका छैनन् ।

यिनै पुरुषका कारण नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ६ घण्टा विद्युत उत्पादन बन्द गर्दा करिब ६० लाख बराबर घाटा भएको बताएका छन् ।

ति व्यक्तिलाई तल झार्न दिनभर प्रयास गर्दा पनि मानेका छैनन् । अहिले उनलाई हेलिकप्टरको प्रयोग गरेर झार्न खोजिएको छ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा हुने घिसिङले बताएका छन् ।

एक व्यक्तिको सनकको कारण ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ५ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन । बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ ।