ह्वात्तै घट्यो तरकारीको मूल्य - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ह्वात्तै घट्यो तरकारीको मूल्य



काठमाडौं- तिहार लगत्तै तरकारीको भाउमा भारी गिरावट आएको छ । मूल्यमा गिरावट आएसँगै उपभोक्ताले भने राहत महशुस गरेका छन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कुनै-कुनै तरकारीको मूल्यमा ३५ प्रतिशत सम्मले कमी आएको छ।

कालिमाटीले आज जारी गरेको मूल्य सूची अनुसार हरियो धनीयाँ किलोमा १ सय ७० रुपैयाँले घटेको छ। मंगलबार हरियो धनीयाँ किलोमा ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो। आज भाउ घटेर किलोको ४ सय ४५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ।

यस्तै लोकल गारको मूल्य मंगलबार १ सय ९० तोकिएकोमा आज १ सय ६५, काउली स्थानीय मंगलबार २ सय २५ तोकिएकोमा आज १ सय ४५ तोकिएको छ। मंगलबारकोभन्दा आज स्थानीय काउलीमा ३५ प्रतिशतले मूल्यमा कमी आएको हो।

यस्तै मंगलबार लोकल सेतो मूला ६५ रुपैयाँमा किनबेच भएको मा आज ५५ रुपैयाँ मूल्य तोकिएको छ। सेतो हाइब्रेड मूला पनि कलोमा १० रुपैयाँ घटेको छ। मंगलबार ६५ रुपैयाँ प्रतिकेजी खुद्रा मूल्य तोकिएकोमा आज ५५ रुपैयाँ तोकिएको छ।

रायो सागको मूल्य मंगलबार १ सय १५ रहेकोमा आज १ सय ३५, तोरीको साग मंगलबार १ सय ५५ रहेकोमा आज १ सय ५ र प्याज हरियो मंगलबार १ सय ९६ रहेकोमा आज १ सय ५५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।

च्याउको मूल्यमा पनि गिरावट आएको कालिमाटीले जनाएको छ। कन्य च्याउको मूल्य मंगलबार १ सय ९५ थियो भने आज घटेर १ सय ९० पुगेको छ। यस्तै डल्ले च्याउ पनि मंगलबारभन्दा किलोमा किलोमै २ सय ५५ रुपैयाँ घटेको छ। मंगलबार ७ सय ७० रुपैयाँ तोकिएको डल्ले च्याउको मूल्य आज ५ सय १५ निर्धारण गरिएको छ।